RSS

बन्दि खाम


प्रिय सुधा !
रङ्गबिहिन जिन्दगीको इन्द्रेणीरुपी मायाका रङ्गहरुले लतपतिएको सुमधुर सम्झना ! धेरै दिनपछी धनगढी घुम्न मन लाग्यो, तिमिसंगै हरेक साँझ हिंडेको पार्कमोड हुँदै एलएन चौकसम्मको बाटो हिंड्दा पुराना दिनहरु याद आए ! कोठाबाट निस्केर साँझपख एलएन चौकतिर लाग्दै गर्दा बन्द भईसकेको पार्क गेटनेर तरकारी, फलफुल र चट्पट बेच्नेहरुको भिड उस्तै थियो, भेटेनरी अगाडिको रामबाबुको चाट पसलमा पनि उस्तै भिड छ, म छु, रामबाबु छन्,हाम्रा सम्झना छन् तर दुर्भाग्य तिमि छैनौ मसँग ! तिम्रो जिद्दीले तिमीसँग धेरै ठाउँ गइन्थ्यो तर मेरो जिद्दीले जाने भनेको एलएन चौकको पत्रिका पसल त थियो नि ! आज पनि त्यहाँ पत्रिका पढ्नेहरुको भिड उहिले भन्दा झन् बढी थियो, आज त्यहाँ जिद्दी गरेर जानु परेको थिएन सायद त्यसैले होला त्यहाँ रोकिन मन लागेन ! तिम्रो प्रेमको पिंजडामा कैद हुने आदत बसीसकेको भएर होला अचेल मलाई मेरै स्वतन्त्रता पनि कैदजस्तो लाग्दैछ ! भ्यालेन्टाइन डे नजिकै आएकोले हुनसक्छ नजिकैका गिफ्टसपहरुमा तन्नेरीहरुको भिडभाड थियो ! प्रेमका रङ्गीन सपना देख्दै गरेका ति हँसिला चेहराहरु देखेर सम्झिएँ हाम्रा ति प्रेमिल पलहरु, त्यहाँका हरेक तरुनीहरु मेरी आफ्नै सुधा जस्ता लागे, अल्लारे ठिटाहरुमा आफ्नै झिल्के हुलिया देखेँ !साँच्चि सुधा आज अरुको प्रेम देखेर आँखा भरिएर आउने बेलामा पुगेको रहेछु ! तिमीलाई यति धेरै माया गरेछु कि अचेल अरुले कसैलाई माया गरेको देख्दा त्यहाँ पनि तिम्रो र मेरो प्रेम देख्छु ! कसैको जोडी मस्किएको देख्यो कि आफैंलाई खिस्याए झैँ लाग्छ !अरुको रोमान्स त नदेखे झैँ गर्छु तर तिमीसँगका ति स्वर्णिम पलहरु चलचित्रका दृश्यहरु झैँ घुम्न थाल्छन् मेरो मानसपटलमा ! साँच्चि सुधा तिमि मसंग भएको भए म मा पनि यस्तै उत्साह हुने थियो होला है तर अहिले मसँग ति स्वर्णिमपलहरु बिस्तारै ज्यानमारा हुने कोसिसमा छन् ! तिमीलाई सम्झिन्छु, यताउता हेर्छु अनि आफैंलाई प्रश्न गर्छु यो शहर बदलिएको हो कि म बदलिएको हुँ ? आज फेरी त्यहि परिवेश, त्यहि समय, त्यहि माहौल छ शहरमा ! फरक भनेको मेरो ओईलाएको मन र तिम्रो रातो रङ्गले फक्रिएको सिउँदो मात्रै त हो नि ! मलाई मै माथि गरिएको अट्टहास जस्तो लाग्ने दृश्यहरुले भरिएको त्यो ठाउँमा बसेर रमिता हेरिरहन सजिलो भएन, लागें आफ्नै कोठातिर !
 कोठा नपुग्दै बाटोमा घरपट्टी आन्टी र सानोबाबु भेटिए, आज सानोबाबुको जन्मदिन रहेछ, केक र केन्डिल किन्न बजार जान लागेका रहेछन् ! साँझको खानाको लागी माथि नै आउनु है भन्नु भयो आन्टीले ! म पनि फिस्स हाँस्दै हवस् भन्दै अघि बढें ! सुधा तिम्ले सम्झेकी छौ कि छैनौं कुन्नि, परार साल मेरो जन्मदिनमा २१ ओटा केन्डिल बालेर निभाउने तयारि हुँदै गर्दा तिम्ले भनेकी थियौ ‘हरेक शुभकार्यमा दियो बालेर शुभारम्भ गर्ने हाम्रै पुर्बिय संस्कृति सुहाउँदो जन्मदिन मनाउँ न, हरेक कुरा पाश्चात्य संस्कार अनुसार नै मनाउनु पर्छ र ?’ पाश्चात्य पर्बहरुलाई पनि हाम्रो पूर्वीय दर्शन र हिन्दु संस्कारमा ढालेर मनाउन चाहने तिम्रो चाहना र खुबी सायदै कसैमा होला ! क्रिसमस होस् कि भ्यालेन्टाइन सबै पर्वमा दियो बालेर मङ्गल कामना गर्ने तिम्रो बानि अद्वितीय थियो ! 
हप्तामा तिन दिन तरकारी लिन हाट जाने भनेर तिमि आउँथ्यौ, म त डेरामा एक्लो बसेको मान्छे कुनै बहाना बनाउनु पर्ने थिएन ! एक छिन् भेट भएको बेला हाँसोमजाक देखि जिन्दगीका गम्भीर कुराकानी सम्म गरिसक्नु पर्थ्यो! म एच ए सिध्याएर जागिरको सिलसिलामा मध्यपश्चिमको पहाडी जिल्ला रुकुम गएँ,जागिरको बाध्यताले दुई बर्ष यता फर्किन सकेन ! दुई बर्ष जागिर गरेर अलिकति बन्दोबस्तीको व्यवस्था गरेर सुधालाई घर भित्राउने सपना देखेर बिछोडको पिडा लुकाएर भए पनि उकालो लागेको थिएँ ! त्यो राज्यले ठगेको तर प्रकृतिले दिएको  ठाउँमा संचारको सुबिधा थिएन न त अहिले जस्तो फेसबुक, ट्वीटर, मोबाईलको सुबिधा नै थियो, दुई बर्षे बसाई सकिने बेला तिम्रै हातले लेखेको चिट्ठी त पाएको थिएँ तर अफसोच यता तिम्रो बिहेको लगन भन्दा एकहप्ता पछी मैले चिट्ठी पाएँ ! तिम्रो चिट्ठीको बन्दिखाम हातमा पर्ने बेलाको खुसि चिट्ठी खोलेर दुई लाइन पढी नसक्दै बिलाएर गयो, धर्ति भासिए झैं भयो, संसार अन्धकारमय लाग्न थाल्यो ! केहि गर्न नसक्ने निरिह देख्न थालेँ  आफैँलाई, त्यहि समयमा मध्यपश्चिम पहाडमा झाडापखालाको प्रकोप थियो,’डाक्टर साप, मेरी छोरीलाई जसरि पनि बचाइदिनु’ भनेर रुँदै गरेकी आमा, झाडापखाला लागेर हैरान भएकी श्रीमतीलाई काखमा राखेर उसको प्राण बचाउन रुँदै गरेका ति बृद्धलाई देखेर तिमिसंगको बिछोडले पाएको जस्तै पिडा अरु कसैले सहनु नपरोस् भनेर आफु रोएर पनि कैयौँ बिरामी बचाइदिएर आफ्नो कर्तब्य पुरा गरें, अहिले उहिले जस्तो हातैले लेखिएका चिट्ठी, शब्द शब्दमा देखिने चोखो माया, चिट्ठीको पर्खाइमा हुने छट्पटीहरु अनि हुलाकी बाजे देख्दाको खुसि कहाँ पो बाँकि रह्यो र ? सानैमा थुप्रै आफन्त गुमाएको म जवानीमा तिम्लाई गुमाएँ, अनि बिस्तारै बिस्तारै आफैंलाई गुमाउन लागेँ ! तिम्रा बाध्यता जे सुकै होलान् तर तिम्लाई गुमाएँ मैले ! तिमि आफु रोएर नि बुवा आमाको खुसीको लागी भए पनि हाँस्न बाध्य भइहौली ! म कसका निम्ति हाँसु ? सँगै जिउने सँगै मर्ने कसम त पुरा गर्न सकिएन तर तिम्लाई टाढा बनाएर बाँच्न सकेन ! बिगतमा म हाँस्थें तिम्रै कुराहरुले,मेरो खुसिकी कारक थियौ तिमि तर सुधा म यो धर्ति तिम्रो निम्ति छोडेर अर्को जन्ममा तिम्लाई आफ्नी बनाउन महान लक्ष्य पुरा गर्न जाँदैछु ! कैयौं दिन अनि रातहरु चुरुटको धुँवामा उडाएँ, आफ्नै आँसुको आहालमा आफैँलाई डुबाएँ, तिमिलाई भेटेर दुख बिसाउने हिम्मत जुटाउन सकेन ! उचाइमा रहेको ऐना धर्तीमा खसेर चुर चुर भए जस्तै आफ्नै प्रेमको दुनियाँबाट खसेपछि टुटेको म, फेरी जोडिन सक्ने कुनै फेभिकल रहेनछ यो संसारमा ! मेरा हरेक सपनाहरु त्यसै मरे यी दिन अनि रातहरुमा, जसको मलामी जाने कोहि भेटेन ! सबै सपना मरेपछि फेरी कसरि सपना देख्नु ? जबसम्म यो दिल रहन्छ तब सम्म यी आँखा रसाईरहन्छन्, कहिलै पुरा नहुने गरि क्षितिज पारि पुगी सकेका अतृप्त चाहनाहरु पुरा गर्न अर्को जुनी कुर्नु बाहेक मसंग कुनै बिकल्प रहेन ! अर्को जुनीको बन्दोबस्त गर्न माथि जाँदैछु ! हाम्रो प्रेमप्रतिको पागलपन देखेर स्वर्गमा पापपून्यको हिसाब गर्ने चित्रगुप्त पनि अर्को जुनी सँगै बिताउने व्यवस्था गर्न राजि होलान् ! यो जुनीको प्रेमकथा अर्को जुनीमा सुखद होला भन्ने सोच्दै यो धरा तिम्लाई जिम्मा लगाएर म जाँदैछु ! मेरो यात्राको खबर सुनेर मर्माहत नहुनु..संसारले मलाई कायर भन्ला तर म हाम्रो यात्राको निरन्तरताको तयारीका निम्तिधर्मराजसंग बिन्ति गर्न जान लागेको हुँ ! छुट्टिएका र तड्पिएका प्रेमजोड़ीहरुको कथा लेखिने यो संसारमा लैला-मजनु, महाराणा प्रताप-अजब्दे, मुना-मदन सँगैको पङ्क्तिमा हामी सुधा-कुमारको प्रेमले पनि स्थान पाउने छ !
 ‘हावा मात्रै चलेको हो रे, पात झरेको छैन - एक्लै सम्झी निराश नहोउ, उ मरेको छैन’
यो जुनीलाई अलबिदा !
उही तिम्रो अर्को जुनीको सारथी
कुमार शर्मा, धनगढी !’’
अरुको प्रेम सार्थक होस् भन्ने पवित्र उद्देश्य बोकेका सन्त भ्यालेन्टाइन ले शहादत पाएको दिन, आफ्नी प्रियसीको बैबाहिक जीवनमा दखल गर्न भन्दा संसार त्याग्न सजिलो ठान्ने मित्रको यो चिट्ठी पढीरहँदा मोहना नदीको किनारमा कुमारको पार्थिब शरीर धुवाँमा बिलय हुँदै थियो, म एच ए पढ्दाको उसको सहपाठी उसलाई मेरा आँसुको अन्तिम श्रद्धाञ्जली दिंदैथिएँ, पुलिसहरु झुण्डिएर आत्महत्या गरेको मुचुल्का तयार गर्दैथिए... मोहना नदीको किनाराभन्दा परको क्षितिजमा कालो बादल देखियो, आकाश गड्गडाएर मेरो साथी कुमारको पवित्र प्रेमलाई अन्तिम सलामी दिंदै थियो !!!



Post a Comment

Powered by Blogger.