RSS

पत्रकारिता र चिकित्सासेवा


अहिले झट्ट हेर्दा नेपालमा सबैभन्दा सजिलो र मिडियामा छाउन सजिलो पेशा भनेको पत्रकारिता हो ! जहाँ पत्रुकार (बिना आधार सनसनी र वाहियात  सम्प्रेषण गर्ने), पर्चाकार(कुनै एक व्यक्ति वा दलको भजन गाउने र अर्कोलाई सत्तोसराप गर्ने) र पत्रकार(पत्रकारिताको आदर्श मर्न नदिई निरन्तर खबरदारी गर्ने)को बर्गिकरण नहुँदा अन्य पेशा/पेशाकर्मी/व्यक्ति माथि आधारहीन आछेप लगाउने क्रम बढ्दो छ ! आम सर्वसाधारण चाहिं तिनै सनसनीपूर्ण सामग्रीहरुलाई के के न गर्भवती महिलाले अमिलो अचार खान पाए झैं स्वाद लिने गर्दछन, सामाजिक संजालमा लाइक/सेअर/कमेन्टको बर्षा संगै माबेन एक गर्ने चरण सुरु हुन्छ ! यी लोकतन्त्र र प्रेस स्वतन्त्रताका नाममा उन्मत्त भएका छाडा साँढे जस्ता केहि पत्रकारहरुलाई यहाँ गलत लेखेउ है भन्नुपर्छ 'चरालाई उड्न नसिका, माछालाई पौडिन नसिका' भन्छन् ! 
रसेन्द्र भट्टराई, अनुजा बानियाँ देखि दिलशोभा श्रेष्ठसम्म आइपुग्दा समेत नसुध्रिनेहरुलाई पत्रकार भन्नु कि पत्रुकार भन्नु, आफैं शब्द चयन गर्नुहोला ! अनि यता समयमा तलब पाइएन भनेर कोकोहोलो मच्चाउँदै हिंड्ने पत्रकारहरुको सानको जीवनशैली र बेलाबखतको विदेश यात्रा देख्दा मलाई उहिले ५/६ बर्ष पहिला एक व्यापारीबाट पैसो दिने भए दे नत्र... भन्ने पत्रकार महाशयले आफ्नो अपहरणको नाटक गरेर तिनै ब्यापारीलाई आरोप लगाएको सम्झिन्छु, हुन त पछी अनुसन्धानको क्रममा यथार्थता पत्ता लागि हाल्यो तर पनि नागरिक दैनिकको त्यो पहिलो पेजको समाचारमा नाम आएका 'शंकास्पद अपहरणकारी'को इज्जतको कुनै मूल्य भएन !
हिजोको कान्तिपुर दैनिकले पहिलो पेजमा 'अप्रेशन गर्दा पेटमै पाइप छोडियो' शिर्षकमा सामग्री पस्कियो ! जुन पाइप ( DJ Stent ) कुनै लापरवाही नभएर मृगौलाको पत्थरी निकालिए पछीको केहि समयसम्म उपचारकै एउटा अङ्गको रुपमा रहन्छ र निश्चित समयपछी निकालिनु पर्छ ! हो बिगतमा उपचारका क्रममा गल्ति भएका छन्, केहीमा कारवाही समेत भएको छ भने धेरै जसोमा कारवाही भएको देखिन्न तर चिन्दै नचिनेको, पहिलो पटक भेटेको बिरामी जब उपचारका क्रममा मर्छ अथवा अन्य जटिलता देखिन्छन् तब मिडियाहरु यसरि प्रस्तुत हुन्छन् कि यिनीहरुको खान्दानी दुस्मनी थियो र डाक्टरले बदला लियो ! यदि उपचारका क्रममा लापरवाही हुन्छ भने दोषीलाई कारवाही गरियोस्, अन्यथा हरेक जस्तो अवस्थामा डाक्टरलाई बदनाम गर्ने काम नगरियोस् ! 
एउटा बिरामी निको हुनुमा डाक्टर मात्र होइन, स्वयम् बिरामीको आचरण, बिश्वास, औषधि, परामर्श र आहारले पनि ठुलो भूमिका खेलेको हुन्छ ! हामी मध्ये कति जना छौं होला जसले डाक्टरले भनेको समयमा, भनेको मात्रामा औषधि खाने, सिकाएको शारीरिक अभ्यास गर्ने र नगर्नु/नखानु भनेको कुरो सरासर मान्ने ? 
कलेजोको सिरोसिस भएको एउटा बिरामी जब उपचार गर्दा गर्दै मर्छ अनि लास अस्पताल अगाडी तेर्स्याएर 'लासको मुल्य'को सौदावाजी सुरु हुन्छ ! त्यहाँ त्यो बिरामी औषधिकै कारणले मर्यो अथवा दिनोरात भट्टीपसलको बासले गयो भन्ने तिर कसैको ध्यान हुँदैन ! केहि बर्ष अगाडी धन्गढ़िको एक निजि अस्पतालमा एउटा बिरामीले 'ओफ्लोक्सासिन' नामको औषधि किनेर घर लग्यो (बिरामीले खायो या खाएन केहि पुष्टि भएन) लगत्तै त्यो बिरामीको मृत्यु भयो, त्यसपछि त्यहि औषधिले बिरामीको ज्यान गएको भन्दै बिरामीका आफन्त तोडफोडमा उत्रिए अनि ६ लाख रुपैँया तिरेर अस्पताल त्यो झमेलाबाट मुक्त भएको थियो !  
यहाँनेर डा. समिर लामाको व्यङ्ग्य उल्लेख गर्न चाहन्छु ''बीरबहादुर थापा (नाम परिवर्तन) भाँचिएको खुट्टा लिएर हजारौं खर्च गरी गाँउबाट शहरको ठुलो भनाउदो अस्पतालसम्म आईपुगेका थिए। लाखौं शुल्क तिरेर अप्रेसन पनि भयो, उनलाई निको हुने आस पनि थियो। तर अप्रेसनपछी पनि घाऊ निको हुनुको सट्टा झन पाक्दै गयो। घर जान्न भन्दाभन्दै नि डाक्टरले जबर्जस्ती डिस्चार्ज गरिदिए। अत्यधिक दुख्न थालेपछी अर्कै अस्पतालमा देखाउन जाँदा एक्सरे गरेपछी पो थाहा भयो उनको भाचिएको खुट्टा भित्र त अप्रेसनको बेला लामो रड नै छुटेको रहेछ। रडको साथमा थुप्रै नटबल्टुहरु नि छुटेका रहेछन्। डाक्टरको चरम लापरवाहीका कारण विरामीको रोग निको हुनुको साटो झन पिडा थपिएको छ। मेडिकल क्षेत्रमा यस्तो हदैसम्मको लापरवाहीको अन्त कहिले होला? सम्वेदनशीलताको कमी, व्यापारीकरणको कारणले यस्ता लापरवाहीहरु दिनानुदिन बढ्दै गईरहेका छन्, कहिले मुटुको भल्भ फेर्ने भनेर फलामका टुक्रा मुटुभित्र छोडिदिन्छन्, कहिले चालकलाई कडा एन्टीबायटिक दिएर दुर्घटना गराइदिन्छन्, कहिले अप्रेसन गर्नै नपर्ने रोगलाई नि अप्रेसन गर्नुपर्छ भनेर जबर्जस्ती पैसा असुल्ने गर्छन्। - माथिको घटना एउटा काल्पनिक व्यङ्य मात्र हो भनेर बुझिसक्नुभयो होला। तर यही तरिकाले स्वास्थ्य सम्बन्धी खबरहरुमा विना कुनै मेडिकल ज्ञान जथाभावी लेख्दै जाने हो भने भविष्यमा यस्ता खबर पनि नछापिएला भन्न सकिन्न। ''
अन्तमा कम्तिमा पनि आफुलाई मुलुककै अब्बल र सर्वाधिक पढिने पत्रिका भनेर दावी गर्ने नागरिक,कान्तिपूर, अनलाइनखबर लगायतले प्राविधिक बिषयमा समाचार लेख्नका निम्ति सोहि क्षेत्रमा जानकार जनशक्ति राखून अथवा उक्त सामग्रीलाई सम्बन्धित विषयका बिज्ञसँग बुझेर मात्र अगाडी राख्ने कोसिस गरुन ! मिडियाकर्मी साथीहरु तपाईको अनलाइनको १ क्लिक अथवा पत्रिकाको १० रुपैँयाका लागी कुनै पेशा प्रति नै बितृष्णा उत्पन्न हुने सामग्री पस्किनु अघि बिषयको गाम्भीर्यतालाई पनि ध्यान दिने कि ?

Post a Comment

Powered by Blogger.