RSS

मधेश आन्दोलन र सोच


म जहाँ जन्मे हुर्कें त्यहाँ पूर्वी तराईमा घर भएका, मैथली/भोजपुरी लवजमा नेपाली बोल्नेहरुलाई मधेशी भन्दा नि जनकपुरे भन्थे, हाम्लाई पढ़ाउनी सरहरुलाई घर सोध्यो भने जनकपुर भन्थे, पत्याए नि नपत्याए नि मैले चाहिं यो मधेश र मधेशी चाहिं राष्ट्रिय मिडियामा चर्चामा आउन थालेदेखि सुनेको हुँ ! हाम्रातिर ओभरसिअर, अमिन देखि शिक्षक सम्म मधेशीकै बाहुल्यता थियो मैले स्कुल पढ्दा सम्म, खै कहिलै मधेशी भनेर कसैले हेपेको देखिएन, कसैलाई हेपेको नि थाहा भएन ! बिद्यार्थी कुट्नमा च्याम्प्स हुन्थे प्राय जसो जनकपुरे सरहरु, साँच्चि हेप्ने नै भए त आफ्ना छोराछोरी कुट्दा कसैको बाउले कुनै मास्टरलाई थर्काएको/कुटेको थाहा हुनुपर्ने ! स्कुल पढ्दाका सर जनकपुरे, कलेज पढ्दा सल्यानको नेवार देखि कैलालीका थारु सबै सँग जम्थ्यो,नेम जाँदा एउटा यादव र अर्को अन्सारी जिग्री थिए, व्यवहारमा कहिलै पहाडी मधेशी अनुभव भएन ! २०१० मा युक्रेन आउँदा एक जना M.Pharm. पढ्न आउनु भएका, उहिले धरानमा ओटी असिस्टेन्टको रुपमा काम गरेका, सरकारी छात्रवृत्तिमा B.Pharm पढेका, सरकारी औषधि कम्पनिमा काम गर्दै गर्दा यता आएका ४० हाराहारीका दाई हुनुहुन्थ्यो, दाई भनेर आदर गरिन्थ्यो, उहाँ चाहिं जहिले टिमुर्के टिमुर्के कुरा गर्ने, हामीलाई चाहिं जहिले तिमि पहाडेहरु शासक हौ बदला लिनुपर्छ अब जस्तो व्यवहार गर्ने ! अवसरको कमि भनु भने मेरा बाउ/बाजे कसैले नपाएको अवसर उहाँले पाउनु भएको थियो, हाम्रो व्यवहार त्यस्तो भनुँ भने, जहिले हाम्रा अभिभावक हुन् जस्तो गरियो तर पनि उहाँ कहिलै बदलिनु भएन ! 
भेदभाव जहाँ नि छ त्यो रोकिनुपर्छ, छुवाछुतकै कुरामा पनि हजुरबाले भन्दा बा ले अलि कम छुवाछुत माने, हाम्ले छुवाछुत मानिएन ! तर पूर्बी तराईमा छुवाछुतको अवस्था के छ अस्तिको साझा सवालले प्रष्ट पारि सक्यो ! फेरी यो भेदभाव सम्बैधानिक वा कानुनि भेदभाव पनि होइन, कसैलाई अपमानित गरेर तुच्छ शब्द बोलेर आफुलाई महान ठान्नेहरु जता नि हुन्छन्, तिनले बोल्ने कुराले संबिधानको प्रतिनिधित्व गर्दैन ! 
अहिले मधेशमा भईरहेको आन्दोलनलाई नेतृत्व गर्नेहरुले शान्तिपूर्ण बनाउन नखोज्नु, जति मान्छे मर्छन् त्यसले बार्गेनिंगमा सजिलो हुन्छ भन्ने ढङ्गले अगाडी बढ्नु, सुरक्षा निकाय पनि टिकापुर घटनाको प्रतिसोध साँध्ने ढङ्गले उत्रिनु, सरकारले संबिधानमा भएका राम्रा पक्ष बुझाउन नखोज्नु अनि मधेसका हरेक समस्यालाई अन्तिम समयसम्म तन्काउने र भारततिर देखाउने प्रबृत्ति, भारतको चलखेल गर्ने रणनीति र हाम्रा आफ्नै नेताहरुमा कि त दासप्रबृत्ति कि उग्रराष्ट्रवादी देखिने चाहना नै अहिलेका मूल जड हुन् ! 
राष्ट्रका महत्वपूर्ण पदमा कुरो गर्दा अहिले सम्म नेपाली सेनामा बाहुन प्रधानसेनापति भएको छैन, यसमा भेदभाव देखौं कि के गरौँ ? 'रणमे पिछे, भोजमे आगे' भन्ने भनाई छ मधेशमा भन्थे चन्द्रकिशोरले, त्यसो हो भने सेनामा मधेशी कम हुनु ठुलो कुरो होइन होला जबकी प्राबिधिक र शिक्षण पेशामा मधेशीहरुको संख्या ठुलै छ ! सेनाको प्रमुख र प्रधानमन्त्री बाहेक सबै पद/निकायमा मधेशीहरु पुगेकै देखिन्छ ! ऋतिक रोशनकाण्ड मा मधेशीहरुलाई ज्यादती गरेकै हुन् धेरै ठाउँमा, त्यसपछि त्यस्तो कतै भए जस्तो लाग्दैन ! मधेशका जनताले भोट हालेर दिएका समानुपातिक सिट डिभीधारी निर्जला अनि पोख्रेल र शर्माहरुलाई बेच्दा कोहि बोलेको सुनिएन, पूर्बी पहाडमा दार्जिलिङका भारतीयले नागरिकता लिँदा होस् या तराईमा हिजो अस्ति आएका बिहारीले सजिलै नागरिकता लिँदा त्यहाँका रैथानेहरुले हाम्रो भाग खोस्न आएका भारतीय भनेर बोलेको नसुनिने, जन्मैका आधारमा शोषक/सामन्त/शासक हुने, छालाको रङ्ग र बोलीको लवजले राष्ट्रियताको मोहर लाग्ने खै के हो बुझीनसक्नु छ ! कसैले नेपाली कागजमा निवेदन लेखेर ,दश रुपियाँको हुलाक टिकट टाँसेर फलानो घरमा जन्मिन पाउँ भनेर दरखास्त हालेर जन्मेको त नहोला नि, कि त्यस्तो केश नि छ कतै ? छ भने जानकारी पाउँ है त...

पानी पोखियो


पर्यो पानि सपनीमा
भिज्यो बिस्तारा लुछुप्पई
लाग्थ्यो बाबु लजाउला
अनि होला भुतुक्कै

उठ्यो, मुस्कुरायो अनि
छाम्यो ओछ्यान भिजेको
हाँस्यो अनि भन्यो आमा
पानि कसले पोखेको ?

रिसाएकी आमा पनि
हाँसिन कुरा सुनेर
बैराग लाग्दो बानि देखि उसको
बोल्ने कुरा बुनेर

ओछ्यानमा पानी पोख्ने
मेरो भाईको बालापन
मुलुकमा रक्त पोख्ने
'द-लाल'हरुको 'लाला-पन'

उमेरैले बढ्यो भाई
छोड्यो उसले पानी पोख्न
बढ्दा देशका दलालहरु
कहिले रोक्छौ लास जोख्न ?

टिकापुर, रुपन्देही
बालापना लुटिंदाका
सम्झाई देउ न पल आफ्नै
लालाबाला छुट्टीदाँका  

इमान जमान नैतिकता
जोगाएर मान्छे बन
देशै गाड्न लाग्या भए
पहिले आफ्नै खाल्डो खन 

विविधता


डाँडाभरि राताम्य गुराँस देख्छु
म मेरी दुलही सम्झिन्छु
शहरभरी सेताम्मे हिउँ देख्छ
जोन उसैकी दुलही सम्झिन्छ
कालो बुर्कामा सजिएकी तरुनी देख्दा
अहमद आफ्नै बेगम सम्झिन्छ
म टक्क रोकिन्छु र सोच्छु
साँच्चि रङ शुभ अशुभ हुँदो हो त
एउटाकि दुलही र अर्काका मलामी किन सेता हुँदा हुन् ?
कसैकी बेगम र कसैको शोक किन उस्तै कालो हुँदो हो ?

डाक्टरको एप्रोन
पश्चिमा दुलही
अनि पूर्वीय मलामी
एकै एकै देख्छु म
डाक्टरको हतारो
दुलहीको खुसि
अनि मलामीको शोक
किन कत्ति नमिलेको होला है ?
रङ्ग मात्रैले मिलेर त कति पो मिल्दो रहेछ र है ?

कर्णालीको किसान
देश बेच्ने दलाल
अनि शीतलनिवासका महामहिम
सुस्ताका जनता
पारीका 'द- लाल'
अनि गोलि खाने यादव बुढा
टोपीले टाउको बाहेक के नै छोप्ने देखियो र ?
लाज बाहेक धोतीले के नै ढाक्न सक्यो र ?

गोलि खान नपाएको गरिब
विवेकशून्य कुर्सीहरू
मानवताविनाका मान्छेहरु
सरकारी गोलीले निदाउने गरिब
पारीको चाकडीले भेटेको कुर्सि
एम्बुलेन्सको साइरन रोएको गाउँ
किन आँसुमा डुबाएर रत्यौली खेलेको होला ?
हरेक दिन उही कथा यो माटोले कसरि झेलेको होला ?


Powered by Blogger.