RSS

यहि जुनीमा अरबपति


पुतलीसडकको गल्लावालले 
हेर्यो पासपोर्ट, नाप्यो खल्ती, झार्यो पैसा 
बदलामा छाप हान्यो एक थान सुन्दर सपनामा 
खुल्लै आँखा दिउसै देखेछु सपना 
यहि जुनीमा अरबपति हुने 

आमाको चोलिले, बुढीको सारीले 
तिनै महिना पेट भर्न नपुग्ने बारीले
रस चुसेको आँप जस्ता केटाकेटीका नाडीले 
चस्कायो छाती अनि दौडायो यता 
यहि जुनीमा अरबपति हुन 

दिन दिनको बन्दले, गरिबको पेटले 
पैसा संग सपना साट्ने दलेको भेटले 
अलग्यायो घरबाट, बिरानियो आँगन 
लगाएँ उही रुपैडियाको जिनको प्यान्ट 
अनि निस्कें यहि जुनीमा अरबपति हुन 

बा'को बिमारले , साहुको किचकिचले 
फ्रक उध्रिएर, कलम हराएर आएका आँशुले 
धकेले बेस्मारी, हुत्याए घरबाट 
दिएनन् बस्न हात बाँधेर घरैमा 
अनि निस्कें यहि जुनीमा अरबपति हुन 

चढें जहाज, छोडें धर्ति 
बोकेर सपनाको गह्रुङ्गो भारी 
उड्यो जहाज सम्हालेर थुप्रै सपना
देखें झिलिमिली दुनियाँ आकाशबाट 
अनि आएँ यहि जुनीमा अरबपति हुन 

जिउ तातेको कि माटो तातो हो 
पसिना बनेर बग्छ आफ्नै रातो खुन
प्रत्येक दिन चढ्छु आठ दशे तले आकाशहरु 
आँशु र पसिनाले भिजाउँछु अनि निल्छु रोटि 
र सम्झिन्छु लक्ष्य यहि जुनीमा अरबपति हुने 

ओर्लें धर्तीमा, पुगें कोठामा 
अनि गरें फोन घरजहानलाई 
सोधिनन् बिसन्चो, हाँसिन खुसीले 
र अरबपति पतिसँग तेर्स्याईन् सुचि 
थप्यो माग छोरोले अनि सम्झायो मलाई  
यहि जुनीमा अरबपति हुने मेरो लक्ष्य 

बिताएँ बर्षहरु, बगाएँ रगत पसिना 
चढें 'एअर अरेबिया'को पुष्पक बिमान  
सम्झें सपनाहरु अनि गनें शुन्यहरु 
नौ शुन्यको अर्बपति उफ्फ़ ! म बिचरो  
बोकें आफ्नै भाग्यको सदाबहार ठुलो शुन्य 
अनि ओर्लिंएँ म एउटा अरबपति 
र सुनें त्यहि दिन 'एउटा नेपाली अर्बपतिको सुचिमा'
र बुझें फरक अरबपति र अर्बपतिको  

Post a Comment

Powered by Blogger.