RSS

चन्द्रमा


सानोमा टाढाको चाँद चाहिने मान्छे
आमाले थालमा चन्द्रमा देखाएर भुलाईन्
अहिले टाढाकि 'चन्द्रमा' सम्झने मान्छे 
फेसबुकमा फोटो हेरेर भुलिन्छ
फरक यत्ति हो 
उहिले चाँद नपाउँदा रोइन्थ्यो 

अहिले पाएको गुमेर नी चुपचाप छु 

उहिलेकी चाँदकि आमा भन्दा
मेरी आमाको माया निकै बलियो थियो
लाखौँ माइल टाढाको चाँद
थालमै पस्केर दिन्थिन्
अहिलेकी 'चन्द्रमा'की आमा
मेरो मायाको शक्तिभन्दा बलिई रहिछन्
तेसैले होला सायद
आफ्नी छोरीको मन
यताबाट उता सजिलै फर्काइन्

उहिले मेरो थालमा पस्केको चाँद जस्तै
मेरो फेसबुकमा झुल्केकी चन्द्रमा नी नक्कली हो
जसलाई देख्न सकियो, पाउन सकिएन
चाँद जस्तै उनको निधारमा नी सानो दाग छ
तेसैले यिनी पनी चाँद भन्दा कम छैनन्
उनी कहाँ चन्द्रमा कहाँ म तुच्छ मान्छे
जे सुकै होस् चन्द्रमाको जातै ठुलो

मधेश आन्दोलन र सोच


म जहाँ जन्मे हुर्कें त्यहाँ पूर्वी तराईमा घर भएका, मैथली/भोजपुरी लवजमा नेपाली बोल्नेहरुलाई मधेशी भन्दा नि जनकपुरे भन्थे, हाम्लाई पढ़ाउनी सरहरुलाई घर सोध्यो भने जनकपुर भन्थे, पत्याए नि नपत्याए नि मैले चाहिं यो मधेश र मधेशी चाहिं राष्ट्रिय मिडियामा चर्चामा आउन थालेदेखि सुनेको हुँ ! हाम्रातिर ओभरसिअर, अमिन देखि शिक्षक सम्म मधेशीकै बाहुल्यता थियो मैले स्कुल पढ्दा सम्म, खै कहिलै मधेशी भनेर कसैले हेपेको देखिएन, कसैलाई हेपेको नि थाहा भएन ! बिद्यार्थी कुट्नमा च्याम्प्स हुन्थे प्राय जसो जनकपुरे सरहरु, साँच्चि हेप्ने नै भए त आफ्ना छोराछोरी कुट्दा कसैको बाउले कुनै मास्टरलाई थर्काएको/कुटेको थाहा हुनुपर्ने ! स्कुल पढ्दाका सर जनकपुरे, कलेज पढ्दा सल्यानको नेवार देखि कैलालीका थारु सबै सँग जम्थ्यो,नेम जाँदा एउटा यादव र अर्को अन्सारी जिग्री थिए, व्यवहारमा कहिलै पहाडी मधेशी अनुभव भएन ! २०१० मा युक्रेन आउँदा एक जना M.Pharm. पढ्न आउनु भएका, उहिले धरानमा ओटी असिस्टेन्टको रुपमा काम गरेका, सरकारी छात्रवृत्तिमा B.Pharm पढेका, सरकारी औषधि कम्पनिमा काम गर्दै गर्दा यता आएका ४० हाराहारीका दाई हुनुहुन्थ्यो, दाई भनेर आदर गरिन्थ्यो, उहाँ चाहिं जहिले टिमुर्के टिमुर्के कुरा गर्ने, हामीलाई चाहिं जहिले तिमि पहाडेहरु शासक हौ बदला लिनुपर्छ अब जस्तो व्यवहार गर्ने ! अवसरको कमि भनु भने मेरा बाउ/बाजे कसैले नपाएको अवसर उहाँले पाउनु भएको थियो, हाम्रो व्यवहार त्यस्तो भनुँ भने, जहिले हाम्रा अभिभावक हुन् जस्तो गरियो तर पनि उहाँ कहिलै बदलिनु भएन ! 
भेदभाव जहाँ नि छ त्यो रोकिनुपर्छ, छुवाछुतकै कुरामा पनि हजुरबाले भन्दा बा ले अलि कम छुवाछुत माने, हाम्ले छुवाछुत मानिएन ! तर पूर्बी तराईमा छुवाछुतको अवस्था के छ अस्तिको साझा सवालले प्रष्ट पारि सक्यो ! फेरी यो भेदभाव सम्बैधानिक वा कानुनि भेदभाव पनि होइन, कसैलाई अपमानित गरेर तुच्छ शब्द बोलेर आफुलाई महान ठान्नेहरु जता नि हुन्छन्, तिनले बोल्ने कुराले संबिधानको प्रतिनिधित्व गर्दैन ! 
अहिले मधेशमा भईरहेको आन्दोलनलाई नेतृत्व गर्नेहरुले शान्तिपूर्ण बनाउन नखोज्नु, जति मान्छे मर्छन् त्यसले बार्गेनिंगमा सजिलो हुन्छ भन्ने ढङ्गले अगाडी बढ्नु, सुरक्षा निकाय पनि टिकापुर घटनाको प्रतिसोध साँध्ने ढङ्गले उत्रिनु, सरकारले संबिधानमा भएका राम्रा पक्ष बुझाउन नखोज्नु अनि मधेसका हरेक समस्यालाई अन्तिम समयसम्म तन्काउने र भारततिर देखाउने प्रबृत्ति, भारतको चलखेल गर्ने रणनीति र हाम्रा आफ्नै नेताहरुमा कि त दासप्रबृत्ति कि उग्रराष्ट्रवादी देखिने चाहना नै अहिलेका मूल जड हुन् ! 
राष्ट्रका महत्वपूर्ण पदमा कुरो गर्दा अहिले सम्म नेपाली सेनामा बाहुन प्रधानसेनापति भएको छैन, यसमा भेदभाव देखौं कि के गरौँ ? 'रणमे पिछे, भोजमे आगे' भन्ने भनाई छ मधेशमा भन्थे चन्द्रकिशोरले, त्यसो हो भने सेनामा मधेशी कम हुनु ठुलो कुरो होइन होला जबकी प्राबिधिक र शिक्षण पेशामा मधेशीहरुको संख्या ठुलै छ ! सेनाको प्रमुख र प्रधानमन्त्री बाहेक सबै पद/निकायमा मधेशीहरु पुगेकै देखिन्छ ! ऋतिक रोशनकाण्ड मा मधेशीहरुलाई ज्यादती गरेकै हुन् धेरै ठाउँमा, त्यसपछि त्यस्तो कतै भए जस्तो लाग्दैन ! मधेशका जनताले भोट हालेर दिएका समानुपातिक सिट डिभीधारी निर्जला अनि पोख्रेल र शर्माहरुलाई बेच्दा कोहि बोलेको सुनिएन, पूर्बी पहाडमा दार्जिलिङका भारतीयले नागरिकता लिँदा होस् या तराईमा हिजो अस्ति आएका बिहारीले सजिलै नागरिकता लिँदा त्यहाँका रैथानेहरुले हाम्रो भाग खोस्न आएका भारतीय भनेर बोलेको नसुनिने, जन्मैका आधारमा शोषक/सामन्त/शासक हुने, छालाको रङ्ग र बोलीको लवजले राष्ट्रियताको मोहर लाग्ने खै के हो बुझीनसक्नु छ ! कसैले नेपाली कागजमा निवेदन लेखेर ,दश रुपियाँको हुलाक टिकट टाँसेर फलानो घरमा जन्मिन पाउँ भनेर दरखास्त हालेर जन्मेको त नहोला नि, कि त्यस्तो केश नि छ कतै ? छ भने जानकारी पाउँ है त...

पानी पोखियो


पर्यो पानि सपनीमा
भिज्यो बिस्तारा लुछुप्पई
लाग्थ्यो बाबु लजाउला
अनि होला भुतुक्कै

उठ्यो, मुस्कुरायो अनि
छाम्यो ओछ्यान भिजेको
हाँस्यो अनि भन्यो आमा
पानि कसले पोखेको ?

रिसाएकी आमा पनि
हाँसिन कुरा सुनेर
बैराग लाग्दो बानि देखि उसको
बोल्ने कुरा बुनेर

ओछ्यानमा पानी पोख्ने
मेरो भाईको बालापन
मुलुकमा रक्त पोख्ने
'द-लाल'हरुको 'लाला-पन'

उमेरैले बढ्यो भाई
छोड्यो उसले पानी पोख्न
बढ्दा देशका दलालहरु
कहिले रोक्छौ लास जोख्न ?

टिकापुर, रुपन्देही
बालापना लुटिंदाका
सम्झाई देउ न पल आफ्नै
लालाबाला छुट्टीदाँका  

इमान जमान नैतिकता
जोगाएर मान्छे बन
देशै गाड्न लाग्या भए
पहिले आफ्नै खाल्डो खन 

विविधता


डाँडाभरि राताम्य गुराँस देख्छु
म मेरी दुलही सम्झिन्छु
शहरभरी सेताम्मे हिउँ देख्छ
जोन उसैकी दुलही सम्झिन्छ
कालो बुर्कामा सजिएकी तरुनी देख्दा
अहमद आफ्नै बेगम सम्झिन्छ
म टक्क रोकिन्छु र सोच्छु
साँच्चि रङ शुभ अशुभ हुँदो हो त
एउटाकि दुलही र अर्काका मलामी किन सेता हुँदा हुन् ?
कसैकी बेगम र कसैको शोक किन उस्तै कालो हुँदो हो ?

डाक्टरको एप्रोन
पश्चिमा दुलही
अनि पूर्वीय मलामी
एकै एकै देख्छु म
डाक्टरको हतारो
दुलहीको खुसि
अनि मलामीको शोक
किन कत्ति नमिलेको होला है ?
रङ्ग मात्रैले मिलेर त कति पो मिल्दो रहेछ र है ?

कर्णालीको किसान
देश बेच्ने दलाल
अनि शीतलनिवासका महामहिम
सुस्ताका जनता
पारीका 'द- लाल'
अनि गोलि खाने यादव बुढा
टोपीले टाउको बाहेक के नै छोप्ने देखियो र ?
लाज बाहेक धोतीले के नै ढाक्न सक्यो र ?

गोलि खान नपाएको गरिब
विवेकशून्य कुर्सीहरू
मानवताविनाका मान्छेहरु
सरकारी गोलीले निदाउने गरिब
पारीको चाकडीले भेटेको कुर्सि
एम्बुलेन्सको साइरन रोएको गाउँ
किन आँसुमा डुबाएर रत्यौली खेलेको होला ?
हरेक दिन उही कथा यो माटोले कसरि झेलेको होला ?


पत्रकारिता र चिकित्सासेवा


अहिले झट्ट हेर्दा नेपालमा सबैभन्दा सजिलो र मिडियामा छाउन सजिलो पेशा भनेको पत्रकारिता हो ! जहाँ पत्रुकार (बिना आधार सनसनी र वाहियात  सम्प्रेषण गर्ने), पर्चाकार(कुनै एक व्यक्ति वा दलको भजन गाउने र अर्कोलाई सत्तोसराप गर्ने) र पत्रकार(पत्रकारिताको आदर्श मर्न नदिई निरन्तर खबरदारी गर्ने)को बर्गिकरण नहुँदा अन्य पेशा/पेशाकर्मी/व्यक्ति माथि आधारहीन आछेप लगाउने क्रम बढ्दो छ ! आम सर्वसाधारण चाहिं तिनै सनसनीपूर्ण सामग्रीहरुलाई के के न गर्भवती महिलाले अमिलो अचार खान पाए झैं स्वाद लिने गर्दछन, सामाजिक संजालमा लाइक/सेअर/कमेन्टको बर्षा संगै माबेन एक गर्ने चरण सुरु हुन्छ ! यी लोकतन्त्र र प्रेस स्वतन्त्रताका नाममा उन्मत्त भएका छाडा साँढे जस्ता केहि पत्रकारहरुलाई यहाँ गलत लेखेउ है भन्नुपर्छ 'चरालाई उड्न नसिका, माछालाई पौडिन नसिका' भन्छन् ! 
रसेन्द्र भट्टराई, अनुजा बानियाँ देखि दिलशोभा श्रेष्ठसम्म आइपुग्दा समेत नसुध्रिनेहरुलाई पत्रकार भन्नु कि पत्रुकार भन्नु, आफैं शब्द चयन गर्नुहोला ! अनि यता समयमा तलब पाइएन भनेर कोकोहोलो मच्चाउँदै हिंड्ने पत्रकारहरुको सानको जीवनशैली र बेलाबखतको विदेश यात्रा देख्दा मलाई उहिले ५/६ बर्ष पहिला एक व्यापारीबाट पैसो दिने भए दे नत्र... भन्ने पत्रकार महाशयले आफ्नो अपहरणको नाटक गरेर तिनै ब्यापारीलाई आरोप लगाएको सम्झिन्छु, हुन त पछी अनुसन्धानको क्रममा यथार्थता पत्ता लागि हाल्यो तर पनि नागरिक दैनिकको त्यो पहिलो पेजको समाचारमा नाम आएका 'शंकास्पद अपहरणकारी'को इज्जतको कुनै मूल्य भएन !
हिजोको कान्तिपुर दैनिकले पहिलो पेजमा 'अप्रेशन गर्दा पेटमै पाइप छोडियो' शिर्षकमा सामग्री पस्कियो ! जुन पाइप ( DJ Stent ) कुनै लापरवाही नभएर मृगौलाको पत्थरी निकालिए पछीको केहि समयसम्म उपचारकै एउटा अङ्गको रुपमा रहन्छ र निश्चित समयपछी निकालिनु पर्छ ! हो बिगतमा उपचारका क्रममा गल्ति भएका छन्, केहीमा कारवाही समेत भएको छ भने धेरै जसोमा कारवाही भएको देखिन्न तर चिन्दै नचिनेको, पहिलो पटक भेटेको बिरामी जब उपचारका क्रममा मर्छ अथवा अन्य जटिलता देखिन्छन् तब मिडियाहरु यसरि प्रस्तुत हुन्छन् कि यिनीहरुको खान्दानी दुस्मनी थियो र डाक्टरले बदला लियो ! यदि उपचारका क्रममा लापरवाही हुन्छ भने दोषीलाई कारवाही गरियोस्, अन्यथा हरेक जस्तो अवस्थामा डाक्टरलाई बदनाम गर्ने काम नगरियोस् ! 
एउटा बिरामी निको हुनुमा डाक्टर मात्र होइन, स्वयम् बिरामीको आचरण, बिश्वास, औषधि, परामर्श र आहारले पनि ठुलो भूमिका खेलेको हुन्छ ! हामी मध्ये कति जना छौं होला जसले डाक्टरले भनेको समयमा, भनेको मात्रामा औषधि खाने, सिकाएको शारीरिक अभ्यास गर्ने र नगर्नु/नखानु भनेको कुरो सरासर मान्ने ? 
कलेजोको सिरोसिस भएको एउटा बिरामी जब उपचार गर्दा गर्दै मर्छ अनि लास अस्पताल अगाडी तेर्स्याएर 'लासको मुल्य'को सौदावाजी सुरु हुन्छ ! त्यहाँ त्यो बिरामी औषधिकै कारणले मर्यो अथवा दिनोरात भट्टीपसलको बासले गयो भन्ने तिर कसैको ध्यान हुँदैन ! केहि बर्ष अगाडी धन्गढ़िको एक निजि अस्पतालमा एउटा बिरामीले 'ओफ्लोक्सासिन' नामको औषधि किनेर घर लग्यो (बिरामीले खायो या खाएन केहि पुष्टि भएन) लगत्तै त्यो बिरामीको मृत्यु भयो, त्यसपछि त्यहि औषधिले बिरामीको ज्यान गएको भन्दै बिरामीका आफन्त तोडफोडमा उत्रिए अनि ६ लाख रुपैँया तिरेर अस्पताल त्यो झमेलाबाट मुक्त भएको थियो !  
यहाँनेर डा. समिर लामाको व्यङ्ग्य उल्लेख गर्न चाहन्छु ''बीरबहादुर थापा (नाम परिवर्तन) भाँचिएको खुट्टा लिएर हजारौं खर्च गरी गाँउबाट शहरको ठुलो भनाउदो अस्पतालसम्म आईपुगेका थिए। लाखौं शुल्क तिरेर अप्रेसन पनि भयो, उनलाई निको हुने आस पनि थियो। तर अप्रेसनपछी पनि घाऊ निको हुनुको सट्टा झन पाक्दै गयो। घर जान्न भन्दाभन्दै नि डाक्टरले जबर्जस्ती डिस्चार्ज गरिदिए। अत्यधिक दुख्न थालेपछी अर्कै अस्पतालमा देखाउन जाँदा एक्सरे गरेपछी पो थाहा भयो उनको भाचिएको खुट्टा भित्र त अप्रेसनको बेला लामो रड नै छुटेको रहेछ। रडको साथमा थुप्रै नटबल्टुहरु नि छुटेका रहेछन्। डाक्टरको चरम लापरवाहीका कारण विरामीको रोग निको हुनुको साटो झन पिडा थपिएको छ। मेडिकल क्षेत्रमा यस्तो हदैसम्मको लापरवाहीको अन्त कहिले होला? सम्वेदनशीलताको कमी, व्यापारीकरणको कारणले यस्ता लापरवाहीहरु दिनानुदिन बढ्दै गईरहेका छन्, कहिले मुटुको भल्भ फेर्ने भनेर फलामका टुक्रा मुटुभित्र छोडिदिन्छन्, कहिले चालकलाई कडा एन्टीबायटिक दिएर दुर्घटना गराइदिन्छन्, कहिले अप्रेसन गर्नै नपर्ने रोगलाई नि अप्रेसन गर्नुपर्छ भनेर जबर्जस्ती पैसा असुल्ने गर्छन्। - माथिको घटना एउटा काल्पनिक व्यङ्य मात्र हो भनेर बुझिसक्नुभयो होला। तर यही तरिकाले स्वास्थ्य सम्बन्धी खबरहरुमा विना कुनै मेडिकल ज्ञान जथाभावी लेख्दै जाने हो भने भविष्यमा यस्ता खबर पनि नछापिएला भन्न सकिन्न। ''
अन्तमा कम्तिमा पनि आफुलाई मुलुककै अब्बल र सर्वाधिक पढिने पत्रिका भनेर दावी गर्ने नागरिक,कान्तिपूर, अनलाइनखबर लगायतले प्राविधिक बिषयमा समाचार लेख्नका निम्ति सोहि क्षेत्रमा जानकार जनशक्ति राखून अथवा उक्त सामग्रीलाई सम्बन्धित विषयका बिज्ञसँग बुझेर मात्र अगाडी राख्ने कोसिस गरुन ! मिडियाकर्मी साथीहरु तपाईको अनलाइनको १ क्लिक अथवा पत्रिकाको १० रुपैँयाका लागी कुनै पेशा प्रति नै बितृष्णा उत्पन्न हुने सामग्री पस्किनु अघि बिषयको गाम्भीर्यतालाई पनि ध्यान दिने कि ?

हिन्दुत्व



हावर्ड युनिभर्सिटीमा लामो समय पढाएका डा. सुब्रहमन्यम स्वामीका अनुसार 'धर्मान्तरणको इतिहास र गति हेर्दा अग्निपुजारी पारसीहरु रहेको ईरानमा ईस्लाम धर्म प्रवेश गरेको १५ बर्षमा, इराक (तत्कालिन मेसोपोटामिया, बेबिलोनको केहि हिस्सा) १७ बर्षमा र इजिप्टमा २१ बर्षमा १००% मुस्लिम भए ! युरोपमा करिब ५० बर्षमा लगभग १००% क्रिश्चियन भए तर हाम्रो छिमेकमा करिब ८०० बर्ष मुसलमान र २०० बर्ष क्रिश्चियनहरुले शासन गरेर पनि अहिले भारतमा करिब ८३% हिन्दु धर्मावलम्बी छन् !' भारतमा मुगल शासनकालमा धर्मान्तरण गर्नु पर्ने अथवा कर तिर्नु पर्ने अन्यथा ज्यान दिनु पर्ने जस्तो कठिन अवस्थामा समेत टिकेको हिन्दु धर्म अहिले केहि मान्छेहरु एउटा जागिर, दुइटा बाख्रा, ५० किलो चामलसँग साट्न लागि परेका छन् ! 
हिजो जुन छोरोको आशामा बा-आमाले तिर्थब्रत चहारे, हरिबंश पुराण लगाए आज त्यहि छोरो टिकामा पाखण्ड देख्छ, जनैमा रुढीवादी देख्छ, साँझ बिहान मन्दिरमा बालिने दियोमा तेलको अनावश्यक खर्च देख्छ तर उता काठ र धातुको क्रसमा परमेश्वर देख्छ ! हाम्रो संस्कृतिलाई इज्जत दिनेहरुप्रति म पनि नतमस्तक भएर झुक्न तयार छु ! तर हिन्दु र हिन्दुत्व माथी रुढिवादीको ट्याग भिराउनेहरुलाई एउटा प्रश्न सोध्न चाहन्छु, तिम्रा कोहि प्रियजनलाई कसैले हथौडाले हानेर मारे तिमि त्यहि हथौडाको पुजा गर्छौ ? हथौडाको माला लगाएर अरुलाई अपराधि भन्दै हिंड्छौ होला र ? तिम्रा प्रियजनलाई कसैले चौकोसमा झुण्ड्याएर मारे त्यसैको पुजा गर्छौ ?
चामलसँग आस्था खरिदबिक्रि गर्न तयार हुनेहरु नयाँ नयाँ तरिका अपनाउँदै छन् ! उता हामीले गर्ने देवपुजनलाई ढुङ्गा पुज्नेहरु भनेर हाँस्नेहरु दक्षिण भारतमा जिससकि आमा मेरीको नाममा मन्दिर बनाएर मेरीको काखमा जिसस बसेको मुर्ति राखेर माता यशोदाको काखमा श्रीकृष्ण बसेको झझल्को दिंदैछन् ! हामी दशैं. तिहार, होलि, छठ मनाउँदै गर्दा तिनीहरुका कथित प्रार्थनास्थलमा नाचगान सहित साँस्कृतिक कार्यक्रम गर्छन् किन त ? किन भने पैसोमा किनिएर र बाध्यतामा परेर गएकाहरु कृष्णपुजन गर्न मन्दिर नजाउन, मेरीजिससको मूर्तिमा माल्यार्पण गरेर यताको तिर्सना उता मेटाउन् ! दशैंतिहारको झझल्को यताको नाचगानले मेटाउन खोजुन ! अरे यारों पहेले अपना कित्ता तो क्लिएर करो बादमे हमारा धरमका बुराइ करोगे !
हिन्दु धर्म भित्र जातीय भेदभाव भयो भनेर दलित बस्तीमा धर्मान्तरणका निम्ति मात्र समानताको नारा लगाउनेहरु तिम्रा धर्ममा नाइकेहरु कति जना दलित छन् ? तिमीहरु गरिब हुनुको कारण नै हिन्दुत्व हो भनेर दुस्प्रचार गर्नेहरु हो, हाम्रो धर्ममा धनक गरिब सुदामा भगवान श्रीकृष्णका प्रिय मित्र थिए ! श्रीकृष्णलाई भेट्न सुदामा एक मुट्ठी कनिका कोसेली लिएर जाँदा त्यसमा गरिबी होइन मित्रता देखिन्थ्यो ! अहिले भए कुनै मिसिनरीको एजेन्ट सुदामाको कुटीमा एक बोरा चामल बोकेर जान्थ्यो र भन्थ्यो तिम्रो गरिबीको कारण हिन्दुत्व हो ! अनि त्यहाँ कहाँ श्रीकृष्ण र सुदामाको जस्तो अजर अमर मित्रता रहन्थ्यो होला र ? 
अहिले अधर्मको पक्षमा सय भाई कौरव भए पनि धर्मको पक्षमा रहेका पाँच भाई पाण्डवहरु जाग्ने बेला भएको छ ! आशा छ छिट्टै नयाँ धर्मयुद्धका निम्ति थुप्रै अर्जुनहरु र अर्जुनका निम्ति सारथि श्रीकृष्णको अभ्युदय हुनेछ !

बन्दि खाम


प्रिय सुधा !
रङ्गबिहिन जिन्दगीको इन्द्रेणीरुपी मायाका रङ्गहरुले लतपतिएको सुमधुर सम्झना ! धेरै दिनपछी धनगढी घुम्न मन लाग्यो, तिमिसंगै हरेक साँझ हिंडेको पार्कमोड हुँदै एलएन चौकसम्मको बाटो हिंड्दा पुराना दिनहरु याद आए ! कोठाबाट निस्केर साँझपख एलएन चौकतिर लाग्दै गर्दा बन्द भईसकेको पार्क गेटनेर तरकारी, फलफुल र चट्पट बेच्नेहरुको भिड उस्तै थियो, भेटेनरी अगाडिको रामबाबुको चाट पसलमा पनि उस्तै भिड छ, म छु, रामबाबु छन्,हाम्रा सम्झना छन् तर दुर्भाग्य तिमि छैनौ मसँग ! तिम्रो जिद्दीले तिमीसँग धेरै ठाउँ गइन्थ्यो तर मेरो जिद्दीले जाने भनेको एलएन चौकको पत्रिका पसल त थियो नि ! आज पनि त्यहाँ पत्रिका पढ्नेहरुको भिड उहिले भन्दा झन् बढी थियो, आज त्यहाँ जिद्दी गरेर जानु परेको थिएन सायद त्यसैले होला त्यहाँ रोकिन मन लागेन ! तिम्रो प्रेमको पिंजडामा कैद हुने आदत बसीसकेको भएर होला अचेल मलाई मेरै स्वतन्त्रता पनि कैदजस्तो लाग्दैछ ! भ्यालेन्टाइन डे नजिकै आएकोले हुनसक्छ नजिकैका गिफ्टसपहरुमा तन्नेरीहरुको भिडभाड थियो ! प्रेमका रङ्गीन सपना देख्दै गरेका ति हँसिला चेहराहरु देखेर सम्झिएँ हाम्रा ति प्रेमिल पलहरु, त्यहाँका हरेक तरुनीहरु मेरी आफ्नै सुधा जस्ता लागे, अल्लारे ठिटाहरुमा आफ्नै झिल्के हुलिया देखेँ !साँच्चि सुधा आज अरुको प्रेम देखेर आँखा भरिएर आउने बेलामा पुगेको रहेछु ! तिमीलाई यति धेरै माया गरेछु कि अचेल अरुले कसैलाई माया गरेको देख्दा त्यहाँ पनि तिम्रो र मेरो प्रेम देख्छु ! कसैको जोडी मस्किएको देख्यो कि आफैंलाई खिस्याए झैँ लाग्छ !अरुको रोमान्स त नदेखे झैँ गर्छु तर तिमीसँगका ति स्वर्णिम पलहरु चलचित्रका दृश्यहरु झैँ घुम्न थाल्छन् मेरो मानसपटलमा ! साँच्चि सुधा तिमि मसंग भएको भए म मा पनि यस्तै उत्साह हुने थियो होला है तर अहिले मसँग ति स्वर्णिमपलहरु बिस्तारै ज्यानमारा हुने कोसिसमा छन् ! तिमीलाई सम्झिन्छु, यताउता हेर्छु अनि आफैंलाई प्रश्न गर्छु यो शहर बदलिएको हो कि म बदलिएको हुँ ? आज फेरी त्यहि परिवेश, त्यहि समय, त्यहि माहौल छ शहरमा ! फरक भनेको मेरो ओईलाएको मन र तिम्रो रातो रङ्गले फक्रिएको सिउँदो मात्रै त हो नि ! मलाई मै माथि गरिएको अट्टहास जस्तो लाग्ने दृश्यहरुले भरिएको त्यो ठाउँमा बसेर रमिता हेरिरहन सजिलो भएन, लागें आफ्नै कोठातिर !
 कोठा नपुग्दै बाटोमा घरपट्टी आन्टी र सानोबाबु भेटिए, आज सानोबाबुको जन्मदिन रहेछ, केक र केन्डिल किन्न बजार जान लागेका रहेछन् ! साँझको खानाको लागी माथि नै आउनु है भन्नु भयो आन्टीले ! म पनि फिस्स हाँस्दै हवस् भन्दै अघि बढें ! सुधा तिम्ले सम्झेकी छौ कि छैनौं कुन्नि, परार साल मेरो जन्मदिनमा २१ ओटा केन्डिल बालेर निभाउने तयारि हुँदै गर्दा तिम्ले भनेकी थियौ ‘हरेक शुभकार्यमा दियो बालेर शुभारम्भ गर्ने हाम्रै पुर्बिय संस्कृति सुहाउँदो जन्मदिन मनाउँ न, हरेक कुरा पाश्चात्य संस्कार अनुसार नै मनाउनु पर्छ र ?’ पाश्चात्य पर्बहरुलाई पनि हाम्रो पूर्वीय दर्शन र हिन्दु संस्कारमा ढालेर मनाउन चाहने तिम्रो चाहना र खुबी सायदै कसैमा होला ! क्रिसमस होस् कि भ्यालेन्टाइन सबै पर्वमा दियो बालेर मङ्गल कामना गर्ने तिम्रो बानि अद्वितीय थियो ! 
हप्तामा तिन दिन तरकारी लिन हाट जाने भनेर तिमि आउँथ्यौ, म त डेरामा एक्लो बसेको मान्छे कुनै बहाना बनाउनु पर्ने थिएन ! एक छिन् भेट भएको बेला हाँसोमजाक देखि जिन्दगीका गम्भीर कुराकानी सम्म गरिसक्नु पर्थ्यो! म एच ए सिध्याएर जागिरको सिलसिलामा मध्यपश्चिमको पहाडी जिल्ला रुकुम गएँ,जागिरको बाध्यताले दुई बर्ष यता फर्किन सकेन ! दुई बर्ष जागिर गरेर अलिकति बन्दोबस्तीको व्यवस्था गरेर सुधालाई घर भित्राउने सपना देखेर बिछोडको पिडा लुकाएर भए पनि उकालो लागेको थिएँ ! त्यो राज्यले ठगेको तर प्रकृतिले दिएको  ठाउँमा संचारको सुबिधा थिएन न त अहिले जस्तो फेसबुक, ट्वीटर, मोबाईलको सुबिधा नै थियो, दुई बर्षे बसाई सकिने बेला तिम्रै हातले लेखेको चिट्ठी त पाएको थिएँ तर अफसोच यता तिम्रो बिहेको लगन भन्दा एकहप्ता पछी मैले चिट्ठी पाएँ ! तिम्रो चिट्ठीको बन्दिखाम हातमा पर्ने बेलाको खुसि चिट्ठी खोलेर दुई लाइन पढी नसक्दै बिलाएर गयो, धर्ति भासिए झैं भयो, संसार अन्धकारमय लाग्न थाल्यो ! केहि गर्न नसक्ने निरिह देख्न थालेँ  आफैँलाई, त्यहि समयमा मध्यपश्चिम पहाडमा झाडापखालाको प्रकोप थियो,’डाक्टर साप, मेरी छोरीलाई जसरि पनि बचाइदिनु’ भनेर रुँदै गरेकी आमा, झाडापखाला लागेर हैरान भएकी श्रीमतीलाई काखमा राखेर उसको प्राण बचाउन रुँदै गरेका ति बृद्धलाई देखेर तिमिसंगको बिछोडले पाएको जस्तै पिडा अरु कसैले सहनु नपरोस् भनेर आफु रोएर पनि कैयौँ बिरामी बचाइदिएर आफ्नो कर्तब्य पुरा गरें, अहिले उहिले जस्तो हातैले लेखिएका चिट्ठी, शब्द शब्दमा देखिने चोखो माया, चिट्ठीको पर्खाइमा हुने छट्पटीहरु अनि हुलाकी बाजे देख्दाको खुसि कहाँ पो बाँकि रह्यो र ? सानैमा थुप्रै आफन्त गुमाएको म जवानीमा तिम्लाई गुमाएँ, अनि बिस्तारै बिस्तारै आफैंलाई गुमाउन लागेँ ! तिम्रा बाध्यता जे सुकै होलान् तर तिम्लाई गुमाएँ मैले ! तिमि आफु रोएर नि बुवा आमाको खुसीको लागी भए पनि हाँस्न बाध्य भइहौली ! म कसका निम्ति हाँसु ? सँगै जिउने सँगै मर्ने कसम त पुरा गर्न सकिएन तर तिम्लाई टाढा बनाएर बाँच्न सकेन ! बिगतमा म हाँस्थें तिम्रै कुराहरुले,मेरो खुसिकी कारक थियौ तिमि तर सुधा म यो धर्ति तिम्रो निम्ति छोडेर अर्को जन्ममा तिम्लाई आफ्नी बनाउन महान लक्ष्य पुरा गर्न जाँदैछु ! कैयौं दिन अनि रातहरु चुरुटको धुँवामा उडाएँ, आफ्नै आँसुको आहालमा आफैँलाई डुबाएँ, तिमिलाई भेटेर दुख बिसाउने हिम्मत जुटाउन सकेन ! उचाइमा रहेको ऐना धर्तीमा खसेर चुर चुर भए जस्तै आफ्नै प्रेमको दुनियाँबाट खसेपछि टुटेको म, फेरी जोडिन सक्ने कुनै फेभिकल रहेनछ यो संसारमा ! मेरा हरेक सपनाहरु त्यसै मरे यी दिन अनि रातहरुमा, जसको मलामी जाने कोहि भेटेन ! सबै सपना मरेपछि फेरी कसरि सपना देख्नु ? जबसम्म यो दिल रहन्छ तब सम्म यी आँखा रसाईरहन्छन्, कहिलै पुरा नहुने गरि क्षितिज पारि पुगी सकेका अतृप्त चाहनाहरु पुरा गर्न अर्को जुनी कुर्नु बाहेक मसंग कुनै बिकल्प रहेन ! अर्को जुनीको बन्दोबस्त गर्न माथि जाँदैछु ! हाम्रो प्रेमप्रतिको पागलपन देखेर स्वर्गमा पापपून्यको हिसाब गर्ने चित्रगुप्त पनि अर्को जुनी सँगै बिताउने व्यवस्था गर्न राजि होलान् ! यो जुनीको प्रेमकथा अर्को जुनीमा सुखद होला भन्ने सोच्दै यो धरा तिम्लाई जिम्मा लगाएर म जाँदैछु ! मेरो यात्राको खबर सुनेर मर्माहत नहुनु..संसारले मलाई कायर भन्ला तर म हाम्रो यात्राको निरन्तरताको तयारीका निम्तिधर्मराजसंग बिन्ति गर्न जान लागेको हुँ ! छुट्टिएका र तड्पिएका प्रेमजोड़ीहरुको कथा लेखिने यो संसारमा लैला-मजनु, महाराणा प्रताप-अजब्दे, मुना-मदन सँगैको पङ्क्तिमा हामी सुधा-कुमारको प्रेमले पनि स्थान पाउने छ !
 ‘हावा मात्रै चलेको हो रे, पात झरेको छैन - एक्लै सम्झी निराश नहोउ, उ मरेको छैन’
यो जुनीलाई अलबिदा !
उही तिम्रो अर्को जुनीको सारथी
कुमार शर्मा, धनगढी !’’
अरुको प्रेम सार्थक होस् भन्ने पवित्र उद्देश्य बोकेका सन्त भ्यालेन्टाइन ले शहादत पाएको दिन, आफ्नी प्रियसीको बैबाहिक जीवनमा दखल गर्न भन्दा संसार त्याग्न सजिलो ठान्ने मित्रको यो चिट्ठी पढीरहँदा मोहना नदीको किनारमा कुमारको पार्थिब शरीर धुवाँमा बिलय हुँदै थियो, म एच ए पढ्दाको उसको सहपाठी उसलाई मेरा आँसुको अन्तिम श्रद्धाञ्जली दिंदैथिएँ, पुलिसहरु झुण्डिएर आत्महत्या गरेको मुचुल्का तयार गर्दैथिए... मोहना नदीको किनाराभन्दा परको क्षितिजमा कालो बादल देखियो, आकाश गड्गडाएर मेरो साथी कुमारको पवित्र प्रेमलाई अन्तिम सलामी दिंदै थियो !!!



Powered by Blogger.