RSS

यहि जुनीमा अरबपति


पुतलीसडकको गल्लावालले 
हेर्यो पासपोर्ट, नाप्यो खल्ती, झार्यो पैसा 
बदलामा छाप हान्यो एक थान सुन्दर सपनामा 
खुल्लै आँखा दिउसै देखेछु सपना 
यहि जुनीमा अरबपति हुने 

आमाको चोलिले, बुढीको सारीले 
तिनै महिना पेट भर्न नपुग्ने बारीले
रस चुसेको आँप जस्ता केटाकेटीका नाडीले 
चस्कायो छाती अनि दौडायो यता 
यहि जुनीमा अरबपति हुन 

दिन दिनको बन्दले, गरिबको पेटले 
पैसा संग सपना साट्ने दलेको भेटले 
अलग्यायो घरबाट, बिरानियो आँगन 
लगाएँ उही रुपैडियाको जिनको प्यान्ट 
अनि निस्कें यहि जुनीमा अरबपति हुन 

बा'को बिमारले , साहुको किचकिचले 
फ्रक उध्रिएर, कलम हराएर आएका आँशुले 
धकेले बेस्मारी, हुत्याए घरबाट 
दिएनन् बस्न हात बाँधेर घरैमा 
अनि निस्कें यहि जुनीमा अरबपति हुन 

चढें जहाज, छोडें धर्ति 
बोकेर सपनाको गह्रुङ्गो भारी 
उड्यो जहाज सम्हालेर थुप्रै सपना
देखें झिलिमिली दुनियाँ आकाशबाट 
अनि आएँ यहि जुनीमा अरबपति हुन 

जिउ तातेको कि माटो तातो हो 
पसिना बनेर बग्छ आफ्नै रातो खुन
प्रत्येक दिन चढ्छु आठ दशे तले आकाशहरु 
आँशु र पसिनाले भिजाउँछु अनि निल्छु रोटि 
र सम्झिन्छु लक्ष्य यहि जुनीमा अरबपति हुने 

ओर्लें धर्तीमा, पुगें कोठामा 
अनि गरें फोन घरजहानलाई 
सोधिनन् बिसन्चो, हाँसिन खुसीले 
र अरबपति पतिसँग तेर्स्याईन् सुचि 
थप्यो माग छोरोले अनि सम्झायो मलाई  
यहि जुनीमा अरबपति हुने मेरो लक्ष्य 

बिताएँ बर्षहरु, बगाएँ रगत पसिना 
चढें 'एअर अरेबिया'को पुष्पक बिमान  
सम्झें सपनाहरु अनि गनें शुन्यहरु 
नौ शुन्यको अर्बपति उफ्फ़ ! म बिचरो  
बोकें आफ्नै भाग्यको सदाबहार ठुलो शुन्य 
अनि ओर्लिंएँ म एउटा अरबपति 
र सुनें त्यहि दिन 'एउटा नेपाली अर्बपतिको सुचिमा'
र बुझें फरक अरबपति र अर्बपतिको  

रत्नपार्क कि ऊ


मान्छेहरू गफ्फा लडाउदै थिए 
बदाम  छोडाउदै थिए
मुकुन्देको चर्तिकला वरिपरी नि उस्तै भिड थियो 

अलि पर दिलमाया नि बदाम  हुदै थिई 
उसका कोहि पछ्याउदै थिए
'यो' बदामको नि मोलमोलाई उस्तै थियो

सुन्न त उहिले सुनेको थिए
झुप्पा र बदाम  बेच्छे, भनेर आए
तर ऊ  वदन र चुप्पा बेच्दै थिई 

टिकाउ माया त दिएकै थिए 
बिकाउ चाहिएको थाहै भएन
त्यसैले बदाम बाट बढेर वदन बेच्दै थिई

श्रमजीवी बदाम बेचदा बेच्दै बढुवा भै
शरिरजिवी भएको थाहै भएन
भबिश्य यसैमा सायद सोच्दै थिई 

श्रमजिबिहरुलाई बुकिंग मेरो नमस्ते 
आफ्नै पूर्व... श्रमजीवीलाई दिनु कि नदिनु
म दोधार मा छु यसपाली ऊसलाई भेट्नु कि नभेट्नु
पुरानी मेरी, अहिलेकी रत्नपार्क कि ऊ 

हा हा हा माया रे माया


यहाँ कोई बिना कोई मर्दैन 
जोई बिना पोइ मर्दैन 
पोइ बिना जोई मर्दिन 
तिमि बिना म मर्दैन 
म बिना तिमि मर्दिनौ 

यहाँ कोई कसैको बाच्ने आधार होइन 
जोइको आधार पोइ होइन 
पोइको आधार जोई होइन 
तिम्रो आधार म होइन 
मेरो आधार कोई होइन

उहिले मैले नी भनेथेँ
उनी बिना मर्छु सायद
पक्का आत्महत्या गर्छु 
खै किन मर्न चाहेन वा सकिन 
अहिले कसैले भन्दा मज्जाले हाँस्छु 

मायाले नै दुनियाँ बाँच्ने भए 
काम किन गर्नु पर्थ्यो ?  
यत्रो दु:ख के का लागि ?
तिमि मेरा गाला चुम्थेउ 
म तिम्लाई सुम्सुमाउँथे

सोमालियामा भोकमरी हुने थिएन 
भोकाएर नानी रुने थिएन
भेट्दा बित्तिकै गम्लङ्ग अँगालो हाल्यो 
माया नै माया,
भोक खत्तम
न त खाना चाहियो न त ओखती

अक्सिजनको कुरै खत्तम
मंग बसाउने फल पाकेर गन्हाउथे होला
समय बिताउन अफिस जान्थें 
सेक्रेटरी र हाकिम दुबैले माया गरि खाजा हुन्थ्यो
घरमा साँझ,बिहान दुई छाक गहिरो माया हुन्थ्यो 

तिर्खा लागे सुम्सुमायो 
भोक लागे चुम्मा खायो 
बिरामी भए अँगालो मार्यो 
सोचम त
माया र चुम्मा खाएर 
बिहान बिहान के निस्कदो हो ?

गजब छ यार


गजब छ यार 
अझैं तँ मलाई मुर्ख भन्छस्
हेटौंडादेखि बिराटनगर सबै उद्योग बन्द हुँदा 
मेरो बस्तीको उद्योग चलेकैछ, चल्छ, चल्नेछ 
मान्छे देशमा काम नपाएर बसेका बेला 
मेरो बस्तीका मान्छेको फालाफाल माग आउँछ 
कैले ट्याक्टर चढेर सदरमुकाम नेता बनाउन 
कैले जहाज चढेर रेमिटेन्सले देश बनाउन 
तर पनि तँ मलाई मुर्ख भन्छस् 

रकेटको पुच्छरमा धुँवा पुत्ताउँदै 
काम नपाएकाहरू चन्द्रमातिर सयर गर्दा
म अनि मेरो सिंगो बस्ति, बनाउन लागिपरेकोछ 
काका ज्यान बाजी राखी अफगानमा शान्ति बनाउँछन्
चेली इज्जत लुटाएरै अरबमा आँशुका रोटि बनाउछिन्
भाई टाउको फुटायरै पनि सडकछापलाई नेता बनाउँछ 
बाबा जबर्जस्ति समुन्नतीको सपना बनाउँछन्
तर पनि तँ मलाई मुर्ख भन्छस्  
गजब छ यार 

युरोप आर्थिकमन्दीमा जेलिंदा 
हाम्रो गजब मार्केट चलेकै छ 
रत्नपार्कको गवाँर भोके बेवारिसे भए पनि 
नुन र केमिकलसंग रियाक्सन गर्दै 
केहि महिना खाल्डोमा गुप्तबास बसेर 
डलर र पाउण्डमा हिसाब भएर 
मेडिकल कलेज र ल्याबसम्म पुग्छ 
तर पनि तँ मलाई मुर्ख भन्छस्  
गजब छ यार

हिजो अभागी भनेर ठोकिएको उसको खप्पर 
आजै केहि सय डलरमा बिक्छ
मर्ने बेला भोकाएर देखिएको करंग 
नुन खाएपछी मेरुदण्ड सहित 
पाउण्डमै जाने सौदा भैसकेको छ 
तेसैले मौका पर्दा जसरि नि पैसो बनाएकै छु 
लास आएका बाक्सा देखि जल्न बाँकी दाउरा बेच्छु 
तर पनि तँ मलाई मुर्ख भन्छस्  
गजब छ यार

हेर्दै जा केहि दिन, महिना, ढिलोमा बर्षदिन 
बेच्न बाँकी ..हदरबार र बनाउन बाँकी जातीय राज्य 
सिमा स्तम्भ उखेलेपछीको जनमत संग्रह 
अस्तिका मुस्तांग म्याक्स अनि दक्षिणले उठाउने ट्याक्स 
नक्कली लुम्बिनी बनाउनेको सक्कली काठमाडौँ 
किनकि साथी तँ जनता होस् हेर्न बाहेक के नै सक्छस् 
केहि दिनमा तँ नि यहि उद्योगको नयाँ ब्रान्डमा आउनेछस् 
'नेता ब्रान्ड' बेवकुफ, बिदेशी प्रविधिमा स्वदेशी उत्पादन
'देश मुर्खबिहिन' हुनेछ या 'मुर्ख देशबिहिन' 
अनि अर्को गजब हुनेछ, गजब छ यार गजब ............. 

तिमि र लादेन


हो साँच्चै रहेछ त् भन्दा रहेछन
दानेदाने पे लिखा होता है खाने वालाका नाम 
न्युयोर्क ट्वीनटावर लादेनको नाममा रहेछ 
मेरो दिलको ट्वीनटावर तिम्रै नाममा रहेछ 
साँच्चै धरोधर्म त्यसैले त
दुबैले दुबैलाई गर्ल्याम्म गुर्लुम्म ढालेउ

न्युयोर्कमा आगोको मुस्लो संगै आँशु बर्संदा 
लादेनको तन र मनमा हाँसो हुँदो हो 
तर म ठोकुवा गर्छु 
मेरो मनको ट्वीन टावर ढल्दा 
तिमि उन्मत्त हाँसो हाँस्न सकिनौ
किनकि त्यसभित्र तिम्रो तस्बिर 
थिचिएको,मिचिएको र च्यातिएको थियो 
मेरो मन संगै ह्वारह्वार्ती बलेको थियो 

लादेनले धर्मका नाममा मान्छे जलायो 
तिमीले जातका नाममा प्यार ढलायौ 
उसले भवनभित्र बाहिरका शरीर जलायो 
तिमीले यो मन भित्रका स्वप्नमहल ढलायौ
एउटा दाढी को फरक न हो 
नत्र तिमि र लादेनमा कुनै फरक देख्दिन म 

हुन त दोष तिमीहरुको होइन 
समाजमा धर्म बनाउने लादेन होइन 
नेपालमा जात बनाउने तिमि होइनौ 
समाजले जे सिकायो तेही गर्यौ 
तेसैले तिमि र म दुवै बस्ने समाज दोषी हो 
धर्मका नाममा शरीर
अनि जातका नाममा दिल टुक्राउन 

बाहुन, क्षेत्री, वैश्य, शुद्र तिम्ले बनाएको कहाँ हो र 
तिम्ले त जे देखेउ तेही सिकेउ 
पधेरोमा अलग्गै पानी थाप्नेलाई दलित भनेउ 
तिम्रो घरको आगनसम्म आउनेलाई वैश्य भनेउ 
ढोकाबाट कोठासम्म आउन पाउने क्षेत्री बुझेउ 
भान्सामै पलेटी कसेर खाने तिम्रा उपाध्य बाहुन भए 
भान्साको भित्र ढोकानेर बसेर खान पाउने जैसी बाहुन 

भोलि फेरी धर्मका नाममा कोहि नमारियोस्
जातका नाममा पानी पिउन बन्देज नहोस्
घरानिया हुँ भन्न प्रेम नतोड़ीयोस्
तेसैले जातवाली पुर्व प्रेमिका 
अब तिमि पनी बदलिनु पर्छ 
नयाँ पुस्ता नयाँ सोचले अघि बढ्नु पर्छ 
नत्र 'ऊ' जस्तै सबैको अन्त्य दुखद् हुनेछ 
किनकि यहाँ तन र मन दुवै जलाउनेको कहिलै भलो हुने छैन

अवसान


भित्तामा अडेस लागेर आफ्नो छोराको कमजोर शरीर र शुष्क अनुहारमा नियालिरहेका थिए बा।उनका आँखा अगाडी खाटमा लम्पसार परिरहेको ४० बर्षीय छोरो अनि वरिपरी बसिरहेका अन्य थुप्रै गाउले र प्रियजन। छोरो जीवन र मृत्युको दोसाधमा थियो अनि बा चाही सबैको अनुहार ताक्दै उनीहरुले बारम्बार छोराका बारेमा व्यक्त गरिरहेका प्रतिक्रियाहरु चाहेर/नचाहेर सुनिरहेका थिए। 
 एउटा भन्थ्यो "कुमारबाबु त साह्रै राम्रो मान्छे थियो,के गर्नु दैबले नै यसो गरेपछि"अर्को थप्थ्यो "तर कुमारले आजसम्म बिहे नगर्नुको कारण चाही केहि भनेन है"।कुमारको साथी नरेन पनि त्यहि छेउमा घोसेमुन्टो लगाएर बसेको थियो। जसले जे भने'नि आज कुमारका बावु आमा जत्तिकै अर्को कोहि दुखि छ भने त्यो नरेन नै छ। करिब ४५ काटेको मोटो अग्लो ज्यानको नरेन कुमारको स्कुल पढ्दाको एकदमै मिल्ने साथी हो। कुमार डाक्टरी पढ्न विदेश जानु अघि सम्म शहरबाट हरेक पटक घर आउदा नरेनको घर जान्थ्यो। नरेन र उसकी श्रीमती सुभद्रा दुवै कुमारका स्कुले साथी थिए।त्यो गणेशचौक देखि बजारसम्म कति पटक गफ गर्दै पैदल हिडेका थिए यी दुई।

'बुवा,त्यो खरानी राखेको भाड़ो यसो सिरानी मुनि रख्दिनु न है'सायद यही संकेत गरेको होला कुमारले टाउको हल्लाउदै बुवातिर हेर्दै। ६५ काटेका मास्टर साहेब त्यो खरानीको भाड़ो कुमारको खाटको छेउ तिर हुने गरि राख्छन।रुंदा रुंदा थाकिसकेका ति राता राता भरिएका आँखाले सबैतिर हेर्दै खरानी राखिएको भाँडोमा खकार्छ कुमार।'आज खकार त थुक मात्रै आएको छ,रगत त छैन नि हैन?'छेउमा बसेका बिष्ट बुढा बोल्छन,"हजुर, आज अलि बिसेक छ'बुवाले भन्नुभो।
कुमार,डा.कुमार शर्मा,मानसिक रोग विशेषज्ञ,आज आफै जीवनको अन्तिम स्वास लिईरहेका छन् करिव ६ महिना भो यसरि थालिएका। म नि कुमारका बुवा संगै छेउमा बसेको छु,म आज भर्खरै सुर्खेतबाट आइपुगें,कुमारको अवस्था थाहा पाएर,उसको शारीरिक अवस्था देखेर मुटु भक्कानिएर आयो तर छेउमा बसेर कुमारतिर एकोहोरो टोलाइरहेका बुवा आमा लाई जो बुढेसकालमा छोरा बुहारीको स्याहार सुसार पाउनुपर्ने अनि नातिनातिनी संग रमाउनुपर्ने बेलामा आफ्नै जेष्ठ सन्तानको हेरचाहमा लाग्नुपरेको छ,रुन मात्रै सकिन। कुमारका बुवाले कुमार तिर फर्केर भन्नुभो"बाबु हेर त को आउनुभा'छ",आमाको हातको भरोसाले कुमारले सकी नसकी टाउको उठाउदै मलाई हेर्यो, गहभरी आशु पार्दै मुस्कुराउन खोज्छ मलाई साह्रै नमज्जा लाग्यो। आफै क्षय् तथा छातीरोग विशेषज्ञ भएर नि म केहि गर्न नसक्ने अवस्थामा थिएँ,गएँ कुमारको हात सुम्सुम्याएँ,ऊ सकी नसकी बोल्यो "श्रवन तलाई कस्तो छ यार?"मैले आफुलाई थाम्न सकिन गर्लम्म उसलाई अंगालो हालें"साले,मा त ठिक छु,तेरो यो के हालत भो यार?एक शब्द नि भानिनस है"ऊ केहि बोलेन रुन खोज्थ्यो तर नि रुन सकिरहेको थिएन।वातावरण एकाएक सुनसान भयो बुवा आमा र अरु १/२ जना सुँक्क सुँक्क गरेर रोहिरहेका थिए।    
साझ ढल्कदै थियो सबै छिमेकीहरु आ आफ्ना घर तिर लागे नरेन र म त्यही  बस्यौं बुवा आमा भान्सातिर लाग्नु भो  नरेन संग परिचय गरिसकेपछि सबै कुरा थाहा पाएँ,यो सब कुमार आफैंले निम्तायाको समस्या रहेछ। सगैं MBBS पढ्दा कहिले कहीं खकार्दा,दांत माझ्दा,थुक्दा कुमार को मुख बाट रगत आएको देख्थें,बेला बखत छाती दुख्थ्यो उ छाती दुखेको कुरो लुकाउन खोज्थ्यो तर थाहा भैहाल्थ्यो,मैले "ओए कुमार तलाई त TB भयो कि क्या हो ?"भन्दा होइन ITP हो steroid लिदै छु ठिक भैहाल्छ नि भन्थ्यो। नरेनले भने पछी थाहा पाएँ,'कसैसंग एकोहोरो प्रेममा परे देखि उ आफ्नो जीवनलाई बोझ संझंथियो रे'अस्ति थला परिसके पछी कुमारले भनेको रे 'उ संगको मेरो निर्लज्ज प्रेमको अवसान छिटो हुन पाए आनन्द हुन्थ्यो यार' नरेन ले धेरै जिद्दी गरेपछि उसले त्यो केटिको नाम ठेगाना पेशा सबै बताएछ,'सुधा उपाध्याय,घट्टेकुलो काठमाडौँ , बैंक अफ एशिया कि हेटौडा शाखा प्रमुख'|मलाई नि झट्ट याद आयो संगै पढ्दा एकदिन उसको नोटको बीचमा एउटा फोटो देखेको थिएँ , हिस्सी परेकी टाउकोमा चस्मा राखेकी, गाजल लगाएकी, नाकको टुप्पो मा सानो कोठी भएकी , सेतो/निलो कुर्ता सलवार लगायाकी यौटी राम्री केटि फोटो को पछाडी लेखियको थियो सुधा ,२०... पौष १७ गते | यस्तै २/३ पटक कुमारले फोन पनि गरेथ्यो सायद विदेशबाट| हाम्रा यिनै कुरा सुनेर बिउझे जस्तो छ कुमार, "नरेन,सुन न मेरो पढ्ने कोठामा दराजको आन्तिम खोपामा किताबहरुको बीचमा एउटा रातो डायरी छ त्यो ले न यार ","किन चाहियो अहिले तलाई त आराम गर न यार' नरेनले भन्छ,"ले न ले" कुमार जिद्धि गर्छ| नरेन गयर त्यो पुरानो डायरी ल्यायर आए जुन डायरी आज भन्दा १७ वर्ष पहिले कुमार संग भेट्दा अनि दस  वर्ष अघि पढाई सकिएर हामि छुट्टिदा नि मैले देखेको थिएँ .जसमा उसले सुधालाई सम्झेर  लेखेका थुप्रै गजल ,मुक्तक अनि उनलाई दिन नसकेका प्रेमपत्रहरु थिए|मैले र नरेनले पालैपालो गजल पढेर सुनायौं | 
छेउमा बुवा नि आइसक्नु भएछ| त्यसैले प्रेम पत्र पढ्न सकिएन|एकैछिनमा आमाले खाना खान बोलाउनुभो,बुवा म र नरेन ले खाना खायौं| आमाले रोटि दुधमा भिजाएर कुमारलाई खुवाउदै हुनुहुन्थ्यो,सानो काखे नानिलाई जस्तै| कुमारले सकी नसकी एउटा रोटि खायो र मतिर हेर्दै एकटुक्रा रोटि थालको छेउमा राख्यो मैले बुझें,उहिले खाना खाइसकेर थालमा अलिकती छोड्दै भन्थ्यो 'यो सुधाको लागि ' सायद आज सुधा दुइ सन्तान कि आमा भैसक्दा पनि कुमार सुधाको लागि आफ्नो भागमा पनि भाग लगाएर रख्दिन्छ|खाना खाएर हामि फेरी संगै बस्यौं रात ढल्कदै थियो टाढा टाढा कुकुर भुकेको आवाज मात्र सुनिन्थ्यो बीच बीचमा कुमारको खोकेको आवाज आइरह्यो बिहानको तिन बजे तिर कुमार ले भन्यो आमा मलाई गाह्रो भो सिरानी मास्तिर राखदिनुसन है ,आमाले आफ्नो काख मा कुमार को टाउको राख्नुभो बुवा गएर तुलसी को पात र बेसार हालेर पानि तताएर ल्याउनुभो|'मलाई स्वास लिन गाह्रो भयो' कुमारले भन्यो,उ निकै आतिएको थियो|म नजिक गए र नाडी समाते नाडीको गति  निकै सुस्त भैसकेको थियो कुमार डायरी तिर इसारा गर्दै थियो सायद उ आन्तिम पटक डायरी मा भएको सुधा को फोटो हेर्न चाहन्थ्यो , उसका दुवै हातहरु बुवा आमाले समाउनुभेको थियो| उसको दुवै आखा भरि आसु भरियाका थिए,एक पटक हामि सबै तिर हेरेर बिस्तारै आँखा बन्द गरयो कहिल्यै  नखोल्ने गरी  ......
यसरि कुमारको प्राणपखेरु उडेर गयो बुढा भएका बा-आमालाई बेसाहारा छोडेर| यो मेरो परम मित्र कुमार को मात्र अवसान थिएन यो उसको निर्लज्ज प्रेमको पनि अवसान थियो बिना लगानी,बिना समर्पण,बिना त्याग मेरो कुमारको एकछत्र माया र शुभेच्छाले फलिफाप भैरहेकी सुधाको जीवनमा एउटा युगको अवसान थियो............

त्यो बेला


जव म कक्षा ६ मा पढ्थें, भर्खर प्रा. बि. तह उत्तीर्ण गरेर अर्को स्कुल गएको थिए ।तिस जनाको कक्षामा पढ्ने गरेको म अब नब्बे जनाको सेक्सनमा पढ्दै थिए । संगै पढ्ने साथीहरु विभिन्न स्कुलबाट आएका थिए, थुप्रै नयाँ साथी बने/स्कुलमा हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तर्गत कवितावाचन,गायन, बक्त्रित्वकला, हाजिरी जवाफ लगायत का विभिन्न कार्यक्रम हुन्थे ।  म गायन बाहेक प्राय सबैमा सहभागी हुन्थें,म जस्तै धेरै कार्यक्रममा सहभागी हुने अर्को स्कुलबाट आएकी एउटी साथी थिई: सुधा, बिद्यालयका धेरै कार्यक्रममा संगै सहभागी हुन्थेउ,म भन्दा अलिक ठुली, गाजल सधै लगाउनु पर्ने, नाकको टुप्पोमा कालो कोठी भएकी,अलिकति रमाइलो पाराकी उ मेरी अरुभन्दा अलि नजिक कि साथी थिई ।
कक्षा सातमा पढ्दा नया बर्षको उपलछयमा मैले १ रुपैया पर्ने फुलैफुलको चित्र भएको पोस्ट कार्डमा पछाडीपट्टि "नया बर्ष २०५७को शुभ-कामना, तिम्रो साथी.." लेखेर दिए उसलाई स्कुलको  पारीपट्टी नदीको किनारमा, सायद स्कुल छुट्टी भैसकेको थियो होला । मैले त्यो पोस्ट कार्ड दिदा उसले खै के सोची,डराए जसरि रुँदै भन्न थाली,मैले यो कहाँ लगेर राख्ने ? घरमा दाईले भेट्टाउनसक्छ,भेट्टायो भने फेरी...मैले भने,'यो त शुभ कामना पो दिएको त'उसले भनि  दाईले अर्कै सोच्छ,अहिले सम्झंदा लाग्छ उसको दाईले होइन उसले पो अर्कै सोचेकी रहिछ । त्यसको केहि दिन पछी उसले मलाई पोस्ट कार्ड पठाई दिपामार्फत, तर खै के भो मैले त्यो पोस्ट कार्ड एक पटक नि नपढी विनोदलाई राख्न दिए ।

केहि दिन पछी स्कुल को पुरानो भवनको पछाडी पट्टि उभिरहेको बेला आई,सुधा । उसले रुन्चे तर मायालु अनुहार बनायर भनि,मैले दिएको पोस्ट कार्ड तिम्ले किन च्यातेको नि ? अब मलाई पर्यो फसाद, मैले च्यातेकै छैन भने उसले त प्रमाण सहितै पो भनि, त्यो कमलाको घर पछाडी खएरको रूख को ठुटोनेर च्यातेर फालेको पोस्ट कार्ड? म अफ्ठ्यारोमा परें, बिनोद लाई सोधे उसले नि मैले फालेन भन्यो, पछी आफै गएर हेरें सुधाका ठुला ठुला अक्षरले शुभ कामना लेखेको त्यो टुक्रा टाक्री जोडेर हेरें शिव,पार्वती र गणेशको फोटो भएको पोस्ट कार्ड रहेछ ।
केहि महिनापछी स्कुलमा सरस्वति पूजाको धुमधाम तयारी हुदै थियो, मैले अलिअलि नाच्न नि जान्ने हुदा गुरुहरु र साथीहरुको आग्रहमा म नि नाचें, सालैको पातैले दिए खान्थें मायाको दाहिने हातैले....बोलको लोक गीतमा,आजैसम्म मलाई पछुतो लाग्दैछ यो गीतमा नाचेकोमा,अहिले त नाच्न नि बिर्सी सकियो । सुधा नि नाची अर्कै सामुहिक नाचमा । सरस्वति पूजामा शोभालाई सरस्वति बनाएर सबैले पूजा गर्दा मलाई भने चित्त बुझेको थिएन किनकि मा सोच्थें, सरस्वतीको रुप त शोभाभन्दा सुधामा झल्कन्छ । तर मैले कसैलाई भन्नु उचित ठानेन, सायद बेलैमा भनेको भए सुधा नै पो सरस्वति हुन्थी कि ?
सात कक्षा पास गरेपछि पढ्नलाई उ नेपालगंज जाने भई, कता कता नरमाइलो लागि रह्यो मैले उसकालागि आठ कक्षा पास भएकी फुपुका किताव सुरक्षित राखेको थिएँ । उ असारको सिमसिमे पानि परेको दिन आएर किताव लगेर गई,मलाई अलिकति खुसि लाग्यो जे होस् सुधा शहरको स्कुल पढे'नि मैले दिएका किताव पढ्दा त मलाई सम्झेली नी.... तर मेरो खुसि तेस्रो दिनमै तुहियो किनकि उसको बाबाले उसलाई नया किताव किन्दिने भन्दै मैले दिएका ति पुराना किताव मेरो घरमा ल्याएर छोड्दिनु भो । मेरो बालक मन रोयो मैले मनमनै सोचें मसंग धेरै पैसा भएको भए नया किताव किनेर सुधालाई दिन्थें अनि सुधाका बाबाले फिर्ता गर्नुहुन्थेंन होला,धेरै दिन सुधालाई सम्झीरहें,उसले गाँउ छोडेर जाँदा त भेट्न आउली भन्ने लागेको थियो तर आइन मैले नी उसको घर गएर भेट्न पाएन ।
अब कक्षा आठको पढाई नी सुरु भयो,पढाईमा खासै मन जान छोड्यो कविता र गजल लेख्न थालियो, राति सबै सुतिसके पछि उपन्यास पढ्न थालें मैले त्यहि बर्ष प्रकाश कोविद, युधिर थापा देखि विश्वेश्वरप्रशाद कोइराला र डाइमनशमशेर राणा सम्मका साहित्यकारहरुका उपन्यास पढियो, पढेका मध्ये डाइमनशमशेर राणाको 'बसन्ती' अति नै मन पर्यो । त्यसको प्रतिफल जिल्लास्तरीय परिक्षाको नतिजा डामाडोल भयो, मैले'नी नेपालगंज गएर पढ्ने विचार राखेको थिएँ अब त्यो नी नहुने भो । सुनें सुधा त आठ कक्षामा फेल भइछ,मलाई नमज्जा लाग्यो।
एकदिन दश कक्षामा पढ्दै गर्दा पवन, नरेन र म मजाक गर्दै थियौं नरेनले भन्यो,म यार तेरो नाममा चिट्ठी लेखेर सुधालाई पठाईदिन्छु मैले नी रमाइलोमै हुन्छ भनें । नभन्दै अर्को दिन त नरेनले चिट्ठी लेखेर हुलाकमा खसाली सकेछ मोरोले लेखेछ 'जिन्दगीमें क्या हुवा सब चिज मेरा लुट गई, बच्पनमें प्यार हुवा जवानिमें छुटगई' । अचम्म त के भने खाममा प्रेषकमा ६ जना साथीको नाम तर भित्र चाही एक जनाको नितान्त व्यक्तिगत । अर्को पटक टीकापुरबाट प्रकाशित 'हजारी' साहित्यिक पत्रिकामा एउटा कविता र एउटा सम्झना लेखेर उसलाई प्रेसित गरें ।
एक दिन लक्ष्मी दिदि (सुधाकी छिमेकी) मेरो घरमा आइन, सायद त्यो दिन २०६२ बैसाख ३ गते थियो र भनिन, 'तिमीले एस्तो के गरेको ? मैले त एस्तो सोच्न नै सक्दिन थिएँ' मलाई एकदमै डर लाग्यो थरथर काप्दै भने यो सबै काम नरेनको हो त्यसपछी उनले भनिन,"सुधाले मलाई त्यो चिट्ठी देखाई,उ तिमि प्रति सहमत छे रे".म एकदमै खुसि भएँ । उनले भनिन् सुधा घर आएकी छ तिमीलाई भेट्न बोलाएकी छ । म नि साइकल चलाउदै लागें सुधाको घरतिर, सुधा घरको परिपट्टि बाख्रा चराउदै रहिछ ।  उसलाई देखेर मुटुको धड्कन बढ्यो उनी पनि बोलिनन् , म पनि बोल्न सकिन । लक्ष्मी दिदिले जिस्काउन थालिन् , उ र म झनै लाजले रातोपिरो भयौं । त्यस पछी हामी सुधाको घर गइयो उसकी आमा काठमाडौँबाट भर्खर आउनु भएको रहेछ ।  उहाँले मलाई चिन्नु हुन्थेन, खै किन हो कुन्नि, "को ? उहाँ ज्वाईं साहेब हो ?" भन्नुभो । लक्ष्मी दिदि मज्जाले हास्दै भन्न थालिन,"कसरी चिन्नु भो नि ?" सुधाले आमालाइ  झपार्दै भनिन "को ज्वाईं ? मेरो साथी हो । " आमाले मलाई सुधाको भिनाजुको भाई जस्तै मान्नु भएछ ।  
त्यो दिन सुधाले दिएको खान दिएको दहि र केराको मिठास सायद कहिल्यै भुल्दिन । त्यस पछी सुधा मलाई पुर्याउन बाटोसम्म आई । तर....तर उसले मलाई भनि कि मैले त तिम्लाई राम्रो साथी मात्रै सोचेकी छु मैले ६ बर्ष देखिकी साथीबाट निराश बनाउने जवाफ पाएँ । त्यतिखेर मलाई भन्न मन लागेको थियो 'Oh !, no best friend , I don't want to be your  just friend, I Love You' but i'm just too shy and i don't know why? तर केहि भन्न सकेन,घर फर्कें कसैसंग बोल्न मन लागेन,पहिलो पटक कसैलाई मन पराएको नि.......। पछी थाहा पाएँ उ माथिल्लो जातकी रे, धनी बाउकी एक्ली छोरी ।  मनमनै भनें 'म पनि त मानव नै हुँ,धनि नभएनी स्वाभिमानी पिता र ममतामयी माताको छोरो हुँ' तर सम्झें अन्तरजातीय विवाह गरेकी दिदीको कारणले उसलाई समस्या परेको हुनसक्छ फेरी सोचें यस्तो हो भने मलाई भन्नु पर्ने, "तिमि मलाई समस्यामा नपार म तिम्री हुन तयार छु",तर उसले जे भनि मेरो मन राख्न मात्रै भनेकी हुनुपर्छ । कसलाई हुन्छ र आत्मसम्मानमा ठेस पुग्ने गरि कसैसंग सम्बन्ध जोड्ने मन?म नि उसलाई गार्हो नपार्न प्रयास गर्थें, बरु म नसके सुधासंग माफी माग्थें र आफ्नो जिद्दी त्याग्थें । कसलाई भनेर के गर्नु.....? त्यसपछि प्रेममा ओरालो लागेको म आफन्त परिवार अनि साथीभाईको छताछुल्ल मायामा पौडिन पाउँदा नि त्यहि सुधालाई सम्झी रहन्छु । मेरो जीवनमा त्यहि एउटी सुधा कहिले सहपाठी बनेर आई त कहिले छिमेकी बनेर तर म त्यहि सुधा खोजि रहेछु जसको हातले पकाएको मिठो खाना बिगतमा जस्तै सधैभरि खान पाईरहुँ। अन्तिम पटक उसको घरमा खाना खाएर छुट्टिदा खेरि मैले 'आज सम्म गरेको गल्तिको माफी माग्दा, निहुँ नखोज है भन्दै हाँस्ने सुधाको हाँसो सधै भरि देख्न पाउँ ....
हुन त, सोचे जस्तो नहुने रहेछ जीवन, आफैमा खोक्रो भईसकेको म दुनियाँको उपचार त गर्न सकुँला, उनीहरुको ओठमा सक्कली हासो ल्याउने प्रयास त गरुँला आफ्नो नक्कली हासो देखाउदै । आफ्नो निर्लज्ज प्रेमको उपचारको खोजीमा रहेको म अझै सम्म'नि उनलाई कुनै अफ्ठ्यारोमा नपार्ने गरि प्रयास गरिरहेछु,सुनेको थिएँ खोलो पनि बाह्र बर्षमा  त फर्कन्छ  रे तर ....अहिले उनीसंग चिनजान भएको करिब १३ बर्ष भैसकेछ । यो मेरो असफल प्रयास हो, सायद यो अन्तिम असफल प्रयास हुनुपर्छ मेरो जीवनको किनकि यसपछिका मेरा प्रयासहरु अध्ध्ययन,अनुसन्धान र उपचार अनि पराया ओठहरुका खुसिका निम्ति  हुनेछन । मेरा जीवनका खुसीहरू उनकै जीवनमा जाउन, उनलाई अफ्ठ्यारो परेको दिन सहयोग गर्न पाउँ...

चन्द्रमाकी आमा



सानोमा टाढाको चाँद चाहिने मान्छे

आमाले थालमा चन्द्रमा देखाएर भुलाईन्
अहिले टाढाकि 'चन्द्रमा' सम्झने मान्छे 
फेसबुकमा फोटो हेरेर भुलिन्छ
फरक यत्ति हो 
उहिले चाँद नपाउँदा रोइन्थ्यो 
अहिले पाएको गुमेर नी चुपचाप छु 



उहिलेकी चाँदकि आमा भन्दा 
मेरी आमाको माया निकै बलियो थियो 
लाखौँ माइल टाढाको चाँद 
थालमै पस्केर दिन्थिन्
अहिलेकी 'चन्द्रमा'की आमा 
मेरो मायाको शक्तिभन्दा बलिई रहिछन्
तेसैले होला सायद 
आफ्नी छोरीको मन 
यताबाट उता सजिलै फर्काइन् 


उहिले मेरो थालमा पस्केको चाँद जस्तै 
मेरो फेसबुकमा झुल्केकी चन्द्रमा नी नक्कली हो 
जसलाई देख्न सकियो, पाउन सकिएन 
चाँद जस्तै उनको निधारमा नी सानो दाग छ 
तेसैले यिनी पनी चाँद भन्दा कम छैनन् 
उनी कहाँ चन्द्रमा कहाँ म तुच्छ मान्छे 
जे सुकै होस् चन्द्रमाको जातै ठुलो
Powered by Blogger.