RSS

त्यो बेला


जव म कक्षा ६ मा पढ्थें, भर्खर प्रा. बि. तह उत्तीर्ण गरेर अर्को स्कुल गएको थिए ।तिस जनाको कक्षामा पढ्ने गरेको म अब नब्बे जनाको सेक्सनमा पढ्दै थिए । संगै पढ्ने साथीहरु विभिन्न स्कुलबाट आएका थिए, थुप्रै नयाँ साथी बने/स्कुलमा हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तर्गत कवितावाचन,गायन, बक्त्रित्वकला, हाजिरी जवाफ लगायत का विभिन्न कार्यक्रम हुन्थे ।  म गायन बाहेक प्राय सबैमा सहभागी हुन्थें,म जस्तै धेरै कार्यक्रममा सहभागी हुने अर्को स्कुलबाट आएकी एउटी साथी थिई: सुधा, बिद्यालयका धेरै कार्यक्रममा संगै सहभागी हुन्थेउ,म भन्दा अलिक ठुली, गाजल सधै लगाउनु पर्ने, नाकको टुप्पोमा कालो कोठी भएकी,अलिकति रमाइलो पाराकी उ मेरी अरुभन्दा अलि नजिक कि साथी थिई ।
कक्षा सातमा पढ्दा नया बर्षको उपलछयमा मैले १ रुपैया पर्ने फुलैफुलको चित्र भएको पोस्ट कार्डमा पछाडीपट्टि "नया बर्ष २०५७को शुभ-कामना, तिम्रो साथी.." लेखेर दिए उसलाई स्कुलको  पारीपट्टी नदीको किनारमा, सायद स्कुल छुट्टी भैसकेको थियो होला । मैले त्यो पोस्ट कार्ड दिदा उसले खै के सोची,डराए जसरि रुँदै भन्न थाली,मैले यो कहाँ लगेर राख्ने ? घरमा दाईले भेट्टाउनसक्छ,भेट्टायो भने फेरी...मैले भने,'यो त शुभ कामना पो दिएको त'उसले भनि  दाईले अर्कै सोच्छ,अहिले सम्झंदा लाग्छ उसको दाईले होइन उसले पो अर्कै सोचेकी रहिछ । त्यसको केहि दिन पछी उसले मलाई पोस्ट कार्ड पठाई दिपामार्फत, तर खै के भो मैले त्यो पोस्ट कार्ड एक पटक नि नपढी विनोदलाई राख्न दिए ।

केहि दिन पछी स्कुल को पुरानो भवनको पछाडी पट्टि उभिरहेको बेला आई,सुधा । उसले रुन्चे तर मायालु अनुहार बनायर भनि,मैले दिएको पोस्ट कार्ड तिम्ले किन च्यातेको नि ? अब मलाई पर्यो फसाद, मैले च्यातेकै छैन भने उसले त प्रमाण सहितै पो भनि, त्यो कमलाको घर पछाडी खएरको रूख को ठुटोनेर च्यातेर फालेको पोस्ट कार्ड? म अफ्ठ्यारोमा परें, बिनोद लाई सोधे उसले नि मैले फालेन भन्यो, पछी आफै गएर हेरें सुधाका ठुला ठुला अक्षरले शुभ कामना लेखेको त्यो टुक्रा टाक्री जोडेर हेरें शिव,पार्वती र गणेशको फोटो भएको पोस्ट कार्ड रहेछ ।
केहि महिनापछी स्कुलमा सरस्वति पूजाको धुमधाम तयारी हुदै थियो, मैले अलिअलि नाच्न नि जान्ने हुदा गुरुहरु र साथीहरुको आग्रहमा म नि नाचें, सालैको पातैले दिए खान्थें मायाको दाहिने हातैले....बोलको लोक गीतमा,आजैसम्म मलाई पछुतो लाग्दैछ यो गीतमा नाचेकोमा,अहिले त नाच्न नि बिर्सी सकियो । सुधा नि नाची अर्कै सामुहिक नाचमा । सरस्वति पूजामा शोभालाई सरस्वति बनाएर सबैले पूजा गर्दा मलाई भने चित्त बुझेको थिएन किनकि मा सोच्थें, सरस्वतीको रुप त शोभाभन्दा सुधामा झल्कन्छ । तर मैले कसैलाई भन्नु उचित ठानेन, सायद बेलैमा भनेको भए सुधा नै पो सरस्वति हुन्थी कि ?
सात कक्षा पास गरेपछि पढ्नलाई उ नेपालगंज जाने भई, कता कता नरमाइलो लागि रह्यो मैले उसकालागि आठ कक्षा पास भएकी फुपुका किताव सुरक्षित राखेको थिएँ । उ असारको सिमसिमे पानि परेको दिन आएर किताव लगेर गई,मलाई अलिकति खुसि लाग्यो जे होस् सुधा शहरको स्कुल पढे'नि मैले दिएका किताव पढ्दा त मलाई सम्झेली नी.... तर मेरो खुसि तेस्रो दिनमै तुहियो किनकि उसको बाबाले उसलाई नया किताव किन्दिने भन्दै मैले दिएका ति पुराना किताव मेरो घरमा ल्याएर छोड्दिनु भो । मेरो बालक मन रोयो मैले मनमनै सोचें मसंग धेरै पैसा भएको भए नया किताव किनेर सुधालाई दिन्थें अनि सुधाका बाबाले फिर्ता गर्नुहुन्थेंन होला,धेरै दिन सुधालाई सम्झीरहें,उसले गाँउ छोडेर जाँदा त भेट्न आउली भन्ने लागेको थियो तर आइन मैले नी उसको घर गएर भेट्न पाएन ।
अब कक्षा आठको पढाई नी सुरु भयो,पढाईमा खासै मन जान छोड्यो कविता र गजल लेख्न थालियो, राति सबै सुतिसके पछि उपन्यास पढ्न थालें मैले त्यहि बर्ष प्रकाश कोविद, युधिर थापा देखि विश्वेश्वरप्रशाद कोइराला र डाइमनशमशेर राणा सम्मका साहित्यकारहरुका उपन्यास पढियो, पढेका मध्ये डाइमनशमशेर राणाको 'बसन्ती' अति नै मन पर्यो । त्यसको प्रतिफल जिल्लास्तरीय परिक्षाको नतिजा डामाडोल भयो, मैले'नी नेपालगंज गएर पढ्ने विचार राखेको थिएँ अब त्यो नी नहुने भो । सुनें सुधा त आठ कक्षामा फेल भइछ,मलाई नमज्जा लाग्यो।
एकदिन दश कक्षामा पढ्दै गर्दा पवन, नरेन र म मजाक गर्दै थियौं नरेनले भन्यो,म यार तेरो नाममा चिट्ठी लेखेर सुधालाई पठाईदिन्छु मैले नी रमाइलोमै हुन्छ भनें । नभन्दै अर्को दिन त नरेनले चिट्ठी लेखेर हुलाकमा खसाली सकेछ मोरोले लेखेछ 'जिन्दगीमें क्या हुवा सब चिज मेरा लुट गई, बच्पनमें प्यार हुवा जवानिमें छुटगई' । अचम्म त के भने खाममा प्रेषकमा ६ जना साथीको नाम तर भित्र चाही एक जनाको नितान्त व्यक्तिगत । अर्को पटक टीकापुरबाट प्रकाशित 'हजारी' साहित्यिक पत्रिकामा एउटा कविता र एउटा सम्झना लेखेर उसलाई प्रेसित गरें ।
एक दिन लक्ष्मी दिदि (सुधाकी छिमेकी) मेरो घरमा आइन, सायद त्यो दिन २०६२ बैसाख ३ गते थियो र भनिन, 'तिमीले एस्तो के गरेको ? मैले त एस्तो सोच्न नै सक्दिन थिएँ' मलाई एकदमै डर लाग्यो थरथर काप्दै भने यो सबै काम नरेनको हो त्यसपछी उनले भनिन,"सुधाले मलाई त्यो चिट्ठी देखाई,उ तिमि प्रति सहमत छे रे".म एकदमै खुसि भएँ । उनले भनिन् सुधा घर आएकी छ तिमीलाई भेट्न बोलाएकी छ । म नि साइकल चलाउदै लागें सुधाको घरतिर, सुधा घरको परिपट्टि बाख्रा चराउदै रहिछ ।  उसलाई देखेर मुटुको धड्कन बढ्यो उनी पनि बोलिनन् , म पनि बोल्न सकिन । लक्ष्मी दिदिले जिस्काउन थालिन् , उ र म झनै लाजले रातोपिरो भयौं । त्यस पछी हामी सुधाको घर गइयो उसकी आमा काठमाडौँबाट भर्खर आउनु भएको रहेछ ।  उहाँले मलाई चिन्नु हुन्थेन, खै किन हो कुन्नि, "को ? उहाँ ज्वाईं साहेब हो ?" भन्नुभो । लक्ष्मी दिदि मज्जाले हास्दै भन्न थालिन,"कसरी चिन्नु भो नि ?" सुधाले आमालाइ  झपार्दै भनिन "को ज्वाईं ? मेरो साथी हो । " आमाले मलाई सुधाको भिनाजुको भाई जस्तै मान्नु भएछ ।  
त्यो दिन सुधाले दिएको खान दिएको दहि र केराको मिठास सायद कहिल्यै भुल्दिन । त्यस पछी सुधा मलाई पुर्याउन बाटोसम्म आई । तर....तर उसले मलाई भनि कि मैले त तिम्लाई राम्रो साथी मात्रै सोचेकी छु मैले ६ बर्ष देखिकी साथीबाट निराश बनाउने जवाफ पाएँ । त्यतिखेर मलाई भन्न मन लागेको थियो 'Oh !, no best friend , I don't want to be your  just friend, I Love You' but i'm just too shy and i don't know why? तर केहि भन्न सकेन,घर फर्कें कसैसंग बोल्न मन लागेन,पहिलो पटक कसैलाई मन पराएको नि.......। पछी थाहा पाएँ उ माथिल्लो जातकी रे, धनी बाउकी एक्ली छोरी ।  मनमनै भनें 'म पनि त मानव नै हुँ,धनि नभएनी स्वाभिमानी पिता र ममतामयी माताको छोरो हुँ' तर सम्झें अन्तरजातीय विवाह गरेकी दिदीको कारणले उसलाई समस्या परेको हुनसक्छ फेरी सोचें यस्तो हो भने मलाई भन्नु पर्ने, "तिमि मलाई समस्यामा नपार म तिम्री हुन तयार छु",तर उसले जे भनि मेरो मन राख्न मात्रै भनेकी हुनुपर्छ । कसलाई हुन्छ र आत्मसम्मानमा ठेस पुग्ने गरि कसैसंग सम्बन्ध जोड्ने मन?म नि उसलाई गार्हो नपार्न प्रयास गर्थें, बरु म नसके सुधासंग माफी माग्थें र आफ्नो जिद्दी त्याग्थें । कसलाई भनेर के गर्नु.....? त्यसपछि प्रेममा ओरालो लागेको म आफन्त परिवार अनि साथीभाईको छताछुल्ल मायामा पौडिन पाउँदा नि त्यहि सुधालाई सम्झी रहन्छु । मेरो जीवनमा त्यहि एउटी सुधा कहिले सहपाठी बनेर आई त कहिले छिमेकी बनेर तर म त्यहि सुधा खोजि रहेछु जसको हातले पकाएको मिठो खाना बिगतमा जस्तै सधैभरि खान पाईरहुँ। अन्तिम पटक उसको घरमा खाना खाएर छुट्टिदा खेरि मैले 'आज सम्म गरेको गल्तिको माफी माग्दा, निहुँ नखोज है भन्दै हाँस्ने सुधाको हाँसो सधै भरि देख्न पाउँ ....
हुन त, सोचे जस्तो नहुने रहेछ जीवन, आफैमा खोक्रो भईसकेको म दुनियाँको उपचार त गर्न सकुँला, उनीहरुको ओठमा सक्कली हासो ल्याउने प्रयास त गरुँला आफ्नो नक्कली हासो देखाउदै । आफ्नो निर्लज्ज प्रेमको उपचारको खोजीमा रहेको म अझै सम्म'नि उनलाई कुनै अफ्ठ्यारोमा नपार्ने गरि प्रयास गरिरहेछु,सुनेको थिएँ खोलो पनि बाह्र बर्षमा  त फर्कन्छ  रे तर ....अहिले उनीसंग चिनजान भएको करिब १३ बर्ष भैसकेछ । यो मेरो असफल प्रयास हो, सायद यो अन्तिम असफल प्रयास हुनुपर्छ मेरो जीवनको किनकि यसपछिका मेरा प्रयासहरु अध्ध्ययन,अनुसन्धान र उपचार अनि पराया ओठहरुका खुसिका निम्ति  हुनेछन । मेरा जीवनका खुसीहरू उनकै जीवनमा जाउन, उनलाई अफ्ठ्यारो परेको दिन सहयोग गर्न पाउँ...

Post a Comment

Powered by Blogger.