RSS

गजब छ यार


गजब छ यार 
अझैं तँ मलाई मुर्ख भन्छस्
हेटौंडादेखि बिराटनगर सबै उद्योग बन्द हुँदा 
मेरो बस्तीको उद्योग चलेकैछ, चल्छ, चल्नेछ 
मान्छे देशमा काम नपाएर बसेका बेला 
मेरो बस्तीका मान्छेको फालाफाल माग आउँछ 
कैले ट्याक्टर चढेर सदरमुकाम नेता बनाउन 
कैले जहाज चढेर रेमिटेन्सले देश बनाउन 
तर पनि तँ मलाई मुर्ख भन्छस् 

रकेटको पुच्छरमा धुँवा पुत्ताउँदै 
काम नपाएकाहरू चन्द्रमातिर सयर गर्दा
म अनि मेरो सिंगो बस्ति, बनाउन लागिपरेकोछ 
काका ज्यान बाजी राखी अफगानमा शान्ति बनाउँछन्
चेली इज्जत लुटाएरै अरबमा आँशुका रोटि बनाउछिन्
भाई टाउको फुटायरै पनि सडकछापलाई नेता बनाउँछ 
बाबा जबर्जस्ति समुन्नतीको सपना बनाउँछन्
तर पनि तँ मलाई मुर्ख भन्छस्  
गजब छ यार 

युरोप आर्थिकमन्दीमा जेलिंदा 
हाम्रो गजब मार्केट चलेकै छ 
रत्नपार्कको गवाँर भोके बेवारिसे भए पनि 
नुन र केमिकलसंग रियाक्सन गर्दै 
केहि महिना खाल्डोमा गुप्तबास बसेर 
डलर र पाउण्डमा हिसाब भएर 
मेडिकल कलेज र ल्याबसम्म पुग्छ 
तर पनि तँ मलाई मुर्ख भन्छस्  
गजब छ यार

हिजो अभागी भनेर ठोकिएको उसको खप्पर 
आजै केहि सय डलरमा बिक्छ
मर्ने बेला भोकाएर देखिएको करंग 
नुन खाएपछी मेरुदण्ड सहित 
पाउण्डमै जाने सौदा भैसकेको छ 
तेसैले मौका पर्दा जसरि नि पैसो बनाएकै छु 
लास आएका बाक्सा देखि जल्न बाँकी दाउरा बेच्छु 
तर पनि तँ मलाई मुर्ख भन्छस्  
गजब छ यार

हेर्दै जा केहि दिन, महिना, ढिलोमा बर्षदिन 
बेच्न बाँकी ..हदरबार र बनाउन बाँकी जातीय राज्य 
सिमा स्तम्भ उखेलेपछीको जनमत संग्रह 
अस्तिका मुस्तांग म्याक्स अनि दक्षिणले उठाउने ट्याक्स 
नक्कली लुम्बिनी बनाउनेको सक्कली काठमाडौँ 
किनकि साथी तँ जनता होस् हेर्न बाहेक के नै सक्छस् 
केहि दिनमा तँ नि यहि उद्योगको नयाँ ब्रान्डमा आउनेछस् 
'नेता ब्रान्ड' बेवकुफ, बिदेशी प्रविधिमा स्वदेशी उत्पादन
'देश मुर्खबिहिन' हुनेछ या 'मुर्ख देशबिहिन' 
अनि अर्को गजब हुनेछ, गजब छ यार गजब ............. 

Post a Comment

Powered by Blogger.